no comments

स्याङ्जामा थप एकहप्ता निषेधाज्ञा

पोखरा, १२ भदौ / स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

छिमेकी जिल्लामा कोरोना संकमितको सख्या वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनको निर्णयले केही खुकुलो हुने गरी पुनः एकहप्ता निषेधाज्ञाको अवधि थप गरिएको क्षेत्रीले बताए ।

बैठकले एम्बुलेन्स र शव बाहन बाहेक अन्य अत्यावश्यक सवारी साधनहरु खाद्य सामग्री, औषधि, दानापानी, दूध, इन्धन बोक्ने सवारी साधन, कूतनीतिक नियोगका सवारी साधन, प्रेस पास भएका सवारी साधन बिहान ६ देखि राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

त्यस्तैगरी कर्मचारी परिचयपत्रका आधारमा कर्मचारीका सवारी साधन बिहान ९ देखि १० बजे र बेलुका ५ देखि ६ बजेसम्म सञ्चालन हुन पाउने प्रजिअ क्षेत्रीले बताए । निषेधाज्ञाको अवधिभर सार्वजनिक यातायात र निजी सवारी साधान जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, तरकारी फलफूल, डेरी र माछा मासु पसलहरु बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी खोल्न दिने निर्णय भएको उनले बताए ।

खाद्यान्न पसलहरु सञ्चालन गर्दा बिक्रेता तथा उपभोक्ताहरुले सेनिटाइजर, मास्क तथा अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको क्षेत्रीले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese