no comments

नेपालमा ट्राफिक प्रहरीको इतिहास

सुनिल उलक

२०१६ सालमा खिचिएको यो तस्विरमा दुइ कुरालाई देख्न सक्छौ । पहिलो फिल्मको प्रचार दोश्रो त्यो बेलाको ट्राफिक प्रहरी । फिल्मको प्रचार भारतीय फिल्मको भएको हुँदा यसको खासै चर्चा गर्न चाहन्न । तर संक्षिप्तमा भन्नुपर्दा प्रदिप कुमार तथा माला सिन्हाको हिन्दी फिल्म डिटेक्टिभको पोष्टर हो यो ।
बि.सं. २०१४ को पुस १८ गते भारतमा रिलिज भएको यो फिल्म करिव २० महिना पछि बल्ल नेपालको सिनेमा हलमा चलेको रहेछ । जुन यहाँ राखिएको पोष्टरमा लेखिएको भाद्र १२ गते शुक्रवारबाट चल्दैछ भन्ने लेखाइले स्पष्ट गराँउछ । अर्को त्यो समय पनि नयाँ सिनेमा शुक्रवार नै रिलिज हुने रहेछ भन्ने थाहा हुन्छ ।
साथै तस्विरमा त्यो समयको ट्राफिक प्रहरी पनि देख्न सकिन्छ । तसर्थ म यहाँ नेपालमा सवारी साधन ब्यबस्थापनको लागी नेपालमा गठन गरिएको ट्राफिक प्रहरीको इतिहास र अन्य केही प्रमुख तथ्यहरुको चर्चा यहाँ गर्न चाहन्छु ।
नेपालमा बि.सं. १९५८ तिर श्री ३ वीरशम्शेरको समयमा उनका बैज्ञानिक छोरा गेहेन्द्रशम्शेरले नेपालमा पहिलो पटक मोटर गाडी भित्राएको देखिन्छ । यसरी भित्रिएको गाडीका चालकहरु भने श्री ३ वीरका कान्छी बडामहारानी तोपकुमारी राज्य लक्ष्मीका भदिनी ज्वाइ रहेको भन्ने देखिन्छ ।
दशनारायण नकर्मी नेपालकै पहिलो गाडी चालक थिए । त्यो समय गाडी चलाउनका लागि कुनै अनुमति लिनु पर्ने भन्ने कतै उल्लेख गरिएको भेटिदैन । पछि बि.सं. १९७८ मा पहिलो पटक गोपाल खोपासेलाई सवारी अनुमति पत्र (लाइसेन्स) दिइएको थियो । तथा २००३ सालदेखी गाडी दर्ता गराइ गाडीमा नम्बर राख्न थालिएको थियो ।
नेपालमा गोर्खाली सेनाहरु मात्र रहेकोमा जनताका शान्ति सुरक्षाका लागि प्रहरीको ब्यबस्था भने गरिएको थिएन । जङ्गबहादुरले आफ्नो शासनकालमा बाह्र सवालमा जनताको सुरक्षाका लागि चौकिदारी प्रथाको शुभारम्भ गरेपछि प्रहरीको काम कर्तव्यको स्वरुप भने देखिएको थियो ।
बि.सं. १९६८ मा आइपुग्दा श्री ३ चन्द्रशम्शेरले सदर जङ्गी कोटवाली गठन गरि प्रहरीको ब्यबस्था नहुँदा सम्म उपत्यकाको शान्ति सुरक्षाको ब्यबस्थाका जिम्मा दिइएको थियो । बि.सं. १९७६ पुस २१ गते काठमाडौ उपत्यकाको शान्ति सुरक्षाको लागि प्रहरी गठन गर्नका लागि जिल्ला पुलिस इन्सपेक्टर सवाल जारी गरि काठमाडौ उपत्यकामा एक सदर पुलिस गोश्वारा, ६ वटा थाना तथा १७ वटा चौकीको ब्यबस्था गरेका थिए ।
साथै सदर पुलिस गोश्वाराका मुख्य हाकिम मेजर क्याप्टेन नरनारायण शाह एक, दुइ डिएसपीहरु कुँवर शम्शेर थापा तथा शिवप्रसाद रेग्मी, चार जमदारहरु, चार हवल्दारहरु, सात हुद्दाहरु, ४३ सिपाहीहरु, एक नायव मुखिया र एक नौसिन्दाको नियुक्ती गरिएको थियो ।
यसरी नेपालमा पनि प्रहरी सेवाको शुरुवात भएको थियो । प्रहरीको शुरुवात भए पनि यातायात ब्यबस्थापनका लागि ट्राफिक प्रहरीको ब्यबस्थापन भने हुन निकै समय लाग्यो । बि.स‌. १९८७ मा सवारी ब्यबस्थापनका लागि सवारी रुल ऐन जारी गरिएको थियो ।
जुद्धशम्शेरले बि.सं. १९९५ तिर एकसाथ १० वटाँ नयाँ गाडीहरु मगाएका थिए । यसको ब्यबस्थापनको आबश्यकता थियो । सवारी चलाउन समय समयमा कठिनाइ समेत हुने गर्दथ्यो । तसर्थ उनले सेनाको रामदल गणलाई प्रहरी तर्फ सारे ।
बि.सं. १९९६ बाट रामदलले नै ट्राफिक ब्यबस्थापन पनि हेरे । त्यसबेलाको ट्राफिक नियम अनुसार चालकले अनुमति पत्र अनिवार्य आफ्नो साथ राख्नुपर्ने तथा सवारी बिहान तोप पड्के पछि राति तोप नपड्के सम्म मात्र चलाउन पाउने बनाइएको थियो ।
अर्थात दिउसो बाह्र बजेबाट राती बाह्र बजेसम्म मात्र सवारी चलाउन पाइन्थ्यो । तर ट्राफिक ब्यबस्थापनका लागि भनेर ल्याइएको रामदलको काम भने बढ्दै गरेको राणा विरोधी आन्दोलनको जासुसी गर्नु थियो । नेपाल मिलिटरी पुलिसको ब्याज लगाएर यी प्रहरी मानिसहरुको चहलपहल हुने ठाउँहरुमा पुग्दथे ।
बि.स‌. २००३ फागुन २१ गते साविकको सवारी रुल ऐन खारेज गरि नयाँ सवारी रुल ऐन लागू गरिएको थियो । यसै समय देखि सवारीमा गोश्वाराका आधारमा सवारीमा नम्बर राख्ने ब्यबस्थाको शुरुवात भयो । यस अगाडि केवल नम्वर मात्रै लेखिन्थ्यो ।
२००७ सालमा देशमा प्रजातन्त्र आए पछि सेनामा पूनर्गठन भयो । जसले गर्दा सेनाको रामदल गण खारेज भयो । यसरी खारेज भएको रामदलका मिलिटरी प्रहरीहरु स्वतह नेपाल प्रहरीमा सरुवा भए । जसलाई ट्राफिक ब्यबस्थापनको जिम्मा दिइयो ।
२००८ सालमा नै प्रहरी प्रधान कार्यालयको स्थापना भयो । र पहिलो महानिरिक्षकका रुपमा तोरण शमशेर बहाल भए । २००९ सालमा ट्राफिक प्रहरी टुकडी भनेर गठन भयो । ५० जना तालिम प्राप्त ट्राफिकको ब्यबस्था गरिए पछि बल्ल नियमित रुपमा ट्राफिक ब्यबस्थापनको काम सुचारु भयो ।
२००९ सालमै मच्छरी चित्रकारलाई पहिलो महिला चालकको रुपमा सवारी अनुमति पत्र प्रदान गरिएको थियो । २०१२ सालमा केन्द्रिय ट्राफिक कम्पनी को रुपमा नाम परिवर्तन गरिएको थियो । २०१६ सालमा वीरगञ्ज, बिराटनगर तथा नेपालगञ्जमा पनि ट्राफिक प्रहरीको शुरुवात भएको थियो ।
२०२० सालमा सवारी नियमावली २०२० लागु गरि सोही वर्षको भदौ २० गतेबाट सवारी ऐन लागु भयो । जसमा सवारी चालक अनुमति पत्र दिने, सवारी दर्ता गर्ने, सवारीमा नियम अनुरुप नयाँ नम्वर राख्ने तथा अन्य कानुनी ब्यबस्थाका अधिकारहरु दिइयो ।
शुरुमा गाडीको नम्वर मात्रै राखिएकोमा २०२० साल अगाडि गोश्वाराको आधारमा नम्वर राख्न थालिएको थियो भने २०२० साल पछि परिवर्तन गरियो । जस्तै काठमाडौमा उपत्यका गोश्वारा नम्वर १५ बाट छोटकरीमा उ.गो. १५ लेखिन्थ्यो भने पछि उ.का. १५ लेख्न थालियो । पोखरामा पश्चिम ३ नं. गोश्वारा १५ अर्थात छोटकरीमा प.३ नं. १५ लेखिन्थ्यो । तर पछि पोखरा १५ लेख्न थालियो । त्यस्तै बिराटनगरमा बि.न. , वीरगञ्जमा वी.ग. , भैरहवामा भै.ह., नेपालगञ्जमा ने.ग. लेख्ने गरियो । साथै सोही मितिबाट सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, निजी सवारीमा रातो प्लेटमा सेतो अक्षर तथा भाडावालमा कालो प्लेटमा सेतो अक्षर लेख्ने ब्यबस्था भयो ।
सोही ऐन अनुसार सवारी चालक अनुमति पत्रका लागि तीन वा चार पाङ्ग्रे सवारीका लागि २१ रुपैषा, दुइ पाङ्ग्रेमा २५० सिसी माथि ११ रुपैया तथा २५० सिसी भन्दा कमका लागि ६ रुपैया तोकिएको थियो । साथै सवारी साधन दर्ताको शुल्कमा ३ टन माथिका ट्रक लरी तथा २० सिट वा सो भन्दा माथिको बसका लागि रु ४०, सो भन्दा तलका लागि रु ३०, तीन वा चार पाङ्ग्रे अन्य साना सवारीलाई रु २०, ट्याक्टर प्रति हर्सपावर रु १०, २५० सिसी माथिका मोटरसाइकल रु १०, सो भन्दा कम सिसीका रु ८ दर तोकिएको थियो ।
शुरुमा नेपाल प्रहरीको पोशाक सरह नै ट्राफिक प्रहरीले पनि खादीको खैरो कपडा नै लगाउने गरेकोमा २०२२ सालबाट बिशिष्टको सवारी तथा समारोहका समय ट्राफिक प्रहरीले सेतो र निलो सेरिमोनियल पोशाकको ब्यबस्थाको थालनी भयो ।
२०२३ सालको कार्तिक २७ गतेबाट बिद्युत संकेतको ब्यबस्था तथा सडकमा जेब्रा क्रसको ब्यबस्थाको थालनी भयो । २०३९ साल पौष २७ गतेबाट ट्राफिक प्रहरीको पोशाक परिवर्तन भएर पी क्याप, निलो कमिज, निलो पाइन्ट, सेतो पेटी र निलो टाइ बनाइयो ।
TechSansar.com - Technology Navigator website for Nepalese

Reply