no comments

पोखरामा अख्तियारको सुविधा सम्पन्न भवन उद्घाटन

पोखरा, २८ मंसिर / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालय भवन उद्घाटन गरेका छन् ।

१४ करोड ७२ लाख रुपैयाँ लागत अनुमान रहेको सो भवनको १२ करोड ८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पोखरा महानगरपालिका वडा ६, मासबारस्थित ६ रोपनी जग्गामा फैलिएको सो भवन गत साढे २ वर्ष अवधिमा निर्माण कार्य सम्पन्न भएको हो ।

सो स्थानमा अत्याधुनिक २ वटा भवन निर्माण गरिएको हो । तीमध्ये प्रशासनिक भवनमा १० कोठा र प्रहरी भवनमा ११ कोठा रहेका छन् । यसअघि पोखरा ९, नयाँबजारबाट आयोगको क्षेत्रीय कार्यालय संचालन हुँदै आएको थियो ।

यस प्रदेशका अख्तियार सम्बन्धित सम्पूर्ण कामहरु निकट भविष्यमै पोखरा कार्यालयबाटै हुने जनाइएको छ ।
नवनिर्मित भवन उद्घाटन गर्दै कावा प्रमुख आयुक्त डा. जोशीले सम्बन्धित निकायहरु जिम्मेवार र जवाफदेही भएमा विकास निर्माणका कार्य समयमै सम्पन्न हुने बताए ।

अख्तियार संघीय, प्रदेश र स्थानीय तिनै तहका सरकार तथा नागरिक समाजसँग सहकार्य गर्दै मुलुकमा भ्रष्टाचार नियन्त्रणमा अघि बढ्ने बताए । यसो भएमा मात्र सुशासन प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।

अनुचित कार्य भएको भन्दै आयोगमा उजुरी धेरै आएको उनले उल्लेख गर्दै उजुरी आउँदैमा सबै भ्रष्टाचारी हुन् भन्ने मान्यता नराख्न आग्रह गरे । ‘

कुनै सरकारी कार्यालयमा उजुरी आयो भने विकास निर्माणका कार्य नै रोक्ने प्रचलन छ, त्यसले गर्दा समग्र विकासमा घाटा हुन्छ । अनुसन्धानका क्रममा रोक्नुपर्ने भए आयोगले जानकारी गराउँछ, तबमात्र काम रोक्नुहोस्,’ उनले भने ।

गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले भ्रष्टाचार न्यूनीकरणले मात्रै देशको विकास सम्भव भएको बताए ।
आयोगका पोखरा कार्यालय प्रमुख विपीन आचार्यले विगतको तुलनामा चालु आवको यस अवधिमा ७० प्रतिशत बढी उजुरी आएको बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese