no comments

पोखरा उद्योग बाणिज्य संघ र इ–सेवा फोन पे प्रालिबीच सहकार्य

पोखरा, ३ चैत । पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा संचालनमा ल्याएको छ ।
पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालिबीच मंगलबार क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो ।

संघले यसअघि नै इ–सेवा र क्युआ कोडमार्फत् सदस्यता नविकरण गर्ने व्यवस्था मिलाएको थियो । संघका अध्यक्ष नारायण कोइराला र इ–सेवा फोन पे प्रालिका चिप स्टाट्रेजी म्यानेजर रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य तथा पोखरा उद्योग वाणिथ्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले डिजिटल पेमेण्ट समयको माग भएको बताए । उनले डिजिटल पेमेण्ट सेवाको स्तरोन्नति गर्दै नागरिकलाई शिक्षित बनाउनुपर्ने धारणा राखे । भ्रष्टाचार न्यूनिकरणको लागि डिजिटल पेमेण्टले सघाउने उनको भनाई थियो ।

कार्यक्रम तथा संघका अध्यक्ष नारायण कोइरालाले संघले यसअघि नै सदस्यता नविकरण इसेवामार्फत् गर्दै आएको जनाउँदै डिजिटल भुक्तानीले समयको पनि बचत हुने धारणा राखे । क्युआर कोड सबैजसो बैंक तथा वित्तीय संस्थाले प्रयोग गरिसकेकाले अब ढुक्क भएर कारोबार गर्ने अवस्था आएको उनको भनाई थियो ।

इसेवा फोन पे प्रालिको तर्फबाट चिफ स्टाट्रेजी म्यानेजर रोशन लामिछानेले क्युआर कोडमार्फत् भुक्तानी छिटो र छरितो हुने, खुद्राको समस्या नहुने, पैसा कहाँ खर्च भयो भन्ने जानकारी सुरक्षित रहने बताए ।

मोबाइलमा इसेवा मोवाइल बैंकिङ एप्स डाउनलोड गरेर क्युआर कोड स्क्यान गर्ने प्रक्रिया सजिलो भएको उनको भनाई थियो । हाल इ–सेवा फोन पे प्रालिले ५१ वटा बैंकहरुसँग सहकार्य गर्दै आइरहको जनाउँदै उनले यो सेवा सुरक्षित र भरपर्दो भएको दावी गरे । उनका अनुसार अहिले इ–सेवामार्फत् बिजुली र खानेपानीको बिल तिर्ने काम बढी भएको छ ।

सक्षम एक्सेस टु फाइनान्सका प्रविणराज पन्तका अनुसारहाल १ करोड २६ लाख नेपालीले मोवाइल बैंकिङमा जोडिएका छन् । अहिले सानो कारोबार हुँदै आए पनि २–४ वर्षका ठूलो कारोबार पनि डिजिटल नै हुने जिकिर गरे ।

मोवाइल र इन्टरनेट उपयोग गरी इ–सेवाका माध्यमबाट सर्वसाधरणले रकम आदान–प्रदान गर्न, विजुली, पानी, टेलिफोनको महसुल भक्तानी गर्न, मोवाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भक्तानी गर्न, हवाई टिकट खरिद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ यो सेवा उपयोगी हुने उनको भनाई थियो ।

उनले इ–सेवा संचालन गर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारे । कार्यक्रममा बोल्दै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले डिजिटल पेमेण्टलाई व्यापक बनाउन अझै जनचेतना बढाउनुपर्ने धारणा राखे । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले इ–सेवा र क्युआरकोडको प्रयोग बढ्दै गएको र पोखरा उद्योग वाणिज्य संघ सदैव नयाँ प्रविधिको पक्षमा भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा कास्की पोखरा हस्तकला संघकी सचिव वुद्धि पुर्जा, थोक व्यवसायी संघका अध्यक्ष लेखनाथ सुवेदी,सर्वेश्वर मार्ग व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरु, व्यवसायी महेश ज्ञवाली, झलक शर्मा, मुद्रण उद्योग संघ गण्डकीका महासचिव बसन्त बास्तोलालगायतले झुक्किएर पैसा अर्काको खातामा जाँदा सहज फिर्ता हुनुपर्ने, ठूलो रकम कारोबार गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese