no comments

दोस्रो दाङ साहित्य महोत्सव असोजको पहिलो हप्ता

दाङ, २६ भदौ/ उदाहरण समूह नेपालले असोजको पहिलो हप्ता दाङमा ‘दोस्रो दाङ साहित्य महोत्सव’ गर्ने भएको छ । असोज १, २ र ३ गते हुने महोत्सवमा देशभरिका करिब ३ दर्जन साहित्यकारले भाग लिने आयोजकले जनाएको छ । समूहले अघिल्लो वर्षदेखि महोत्सव आयोजना गर्न थालेको हो ।

यस पटकको साहित्य महोत्सव भने भर्चुअल हुने महोत्सवका संयोजक विष्णु सन्न्यासले जानकारी दिएका छन् । ‘यस वर्ष पनि हामीले दाङको भूमिमै उभिएर देशभरिका लेखक, साहित्यकार, राजनीतिज्ञ उभ्याउने भनेका थियौं । तर, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर राख्दै अनलाइन गर्न लागेका हौैं,’ उनले भने ।

दोस्रो दाङ लिटरेचर फेस्टिभलमा ११ वटा सेसन सञ्चालन हुनेछन् । दाङ थारु समुदायको थातथलो भएकाले असोज १ गते पहिलो सेसन नै थारु भाषाको कविता विशेष ‘हमार माटि, हमार कविटा’ बाट महोत्सव सुरु हुने संयोजक सन्न्यासले सुनाए ।
‘विभिन्न भूगोल वा माटोमा विभिन्न जातजाति, भाषा, धर्मको आफ्नै सौन्दर्य हुन्छ,’ सन्न्यासले भने, ‘दाङको सौन्दर्य थारु भनेकै थारु समुदायको हो । थारु समुदायको भाषा, साहित्य र संस्कृतिबिना दाङको नवीन परिकल्पना गर्न सकिँदैन ।’ उनले १० जना थारु भाषाका साहित्यकारले मातृभाषाबाट कविता सुनाउने जानकारी दिए ।

महोत्सवमा संस्कृतिविद् प्राडा. जगमान गुरुङ, लेखक सञ्जीव उप्रेती राजन मुकारुङ, भूपाल राई, राजनीतिज्ञ गगन थापा, विद्या भट्टराईदेखि साहित्यका पछिल्लो पुस्ताको समेत उपस्थिति रहने आयोजकले जनाएको छ । असोज १ गते महोत्सवको पहिलो सेसन ‘हमार माटि, हमार कविटा’ ११ बजेदेखि सुरु हुने छ । सेसनको सहजीकरण साहित्यकार छविलाल कोपिलाले गर्नेछन् । सोही दिनको १ बजेदेखि सुरु हुने दोस्रो सेसन ‘झण्डाको राजनीति’मा प्राडा जगमान गुरुङ र भूपाल राईबीच बहस हुनेछ । सेसनको सहजीकरण गुरुङ सुशान्तले गर्नेछन् ।

महोत्सवको पहिलो दिन ३ बजे ‘पर्यटनमा दाङको अनुहार’ सेसन हुनेछ । पहिलो दिनको तेस्रो तेस्रोे सेसनमा दाङको पर्यटकीय क्षेत्रबारे घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, पर्यटनविद् प्राडा गोविन्दराज आचार्य र जीतेन्द्रमान नेपालीले वक्ताको भूमिका निभाउनेछन् । उक्त सेसनको संयोजक डा. शिवकुमार सुवेदीले गर्नेछन् । सोही दिनकै अन्तिम सेसन साँझ ५ बजे हुने भएको छ । ‘कोभिड १९ ः भ्रम र यथार्थ’ विषयक सेसनमा प्राडा प्रकाश घिमिरेले जानकारी दिनेछन् ।

महोत्सवको दोस्रो दिन असोज २ गते शुक्रबार पहिलो सेसनमा राप्ती क्षेत्र वरिपरिको सिनेमा कथाबारे छलफल हुनेछ । ११ बजेदेखि सुरु हुने सेसन ‘सिनेमामा आदिवासी कथा’ मा अनिल बुढा र छविलाल कोपिलाबीच छलफल हुनेछ । छलफलको सहजीकरण विष्णु सन्न्यासले गर्ने भएका छन् ।

सोही दिनको दोस्रो सेसन ‘अक्षरमाथि भ्रष्टाचार’ हुनेछ । दिउँसो १ बजेदेखि हुने लेखक, सम्पादक, प्रकाशकबीचको बहसलाई मन क्षेत्रीले सहजीकरण गर्नेछन् । दोस्रो दिनको अन्तिम सेसन ‘डायस्पोरा साहित्यभित्र सकस’ दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । प्रवासमा रहेर लेख्नुका सकसबारे चन्द्र गुरुङ, गोविन्द गिरी प्रेरणा, हाङयुग अज्ञातबीच कुराकानी हुनेछ । कुराकानीको सहजीकरण कुमारी लामाले गर्नेछिन् ।

महोत्सवको अन्तिम दिन असोज ३ गते पहिलो सेसन उदाहरण समूह विशेष हुनेछ । ११ बजेदेखि सुरु हुने सेसनमा समूहमा आबद्ध अभियनताले आआफ्ना कविता सुनाउने छन् । ‘उदाहरण समूह’ सेसन विष्णु सन्न्यासले सहजीकरण गर्नेछन् । सेसनमा दर्जन बढी कविले आफ्नो कविता सुनाउनेछन् ।

सोही दिनको दोस्रो सेसन ‘कोभिडपछिको विश्व’मा कोभिड महामारीको अन्त्यपछि विश्वको अर्थ, राजनीतिबारे बहस हुनेछ । बहसमा वक्ताका रुपमा प्राडा सञ्जीव उप्रेती, नेपाली कांग्रेसका नेता गगन थापा, नेकपा नेत्रृ विद्या भट्टराईबीच बहस हुनेछ । बहसको सहजीकरण दोभान राईले गर्नेछिन् ।

शनिबारको तेस्रो सेसन नेपाली मिडियामाथि छलफल हुने भएको छ । दिउँसो ३ बजेदेखि सुरु हुने ‘महामारीमा मिडिया’ सेसनमा वक्ताका रुपमा रामकृष्ण रेग्मी, वसन्त बस्नेत र फातिमा बानु उपस्थित हुनेछन् । सेसनको सहजीकरण सागर चन्दले गर्नेछन् ।

महोत्सवको अन्तिम दिनको अन्तिम सेसनका रुपमा ‘हस्तक्षेपी हस्ताक्षर’ सञ्चालन गरिने भएको छ । साहित्यमा पछिल्लो पुस्ताको उपस्थिति, अग्रज पुस्ताको दृष्टिकोणमाथि बहस हुने सेसनमा दूर्गा कार्की, नवीन, निर्भीकजंग रायमाझी सहभागी हुनेछन् । शनिबार साँझ ५ बजे सञ्चालन हुने उक्त सेसनको सहजीकरण विकाश मगरले गर्ने भएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese