no comments

तनहुँमा चितुवा गणना, कैद हुनथाले चितुवा

पोखरा, २ मंसिर/ चितुवा आक्रमणबाट लगातार बालबालिकाको मृत्यु भएपछि तनहुँको भानुमा चितुवा र तिनको आहारा प्रजातिका जनावरको संख्या गणना गर्न थालिएको छ । तनहुँको भानुमा लगातार ६ बालबालिकाको चितुवा आक्रमणबाट मृत्यु भयो ।

त्यसपछि बन्दिपुर, ब्यास र शुक्लागण्डकीमा चितवाको आक्रमणबाट थप ४ जनाको ज्यान गयो । जिल्लाभर २ बर्षको अवधीमा १० बालबालिकाको मृत्यु भएको तथ्यांक छ । तत्कालीन समयमा ९ वटा चितुवा समातेर राष्ट्रिय निकुन्जमा छोडिएको थियो ।

तैपनि चितुवाको आक्रमण रोकिएन । चितुवा आक्रमण निरन्तर बढेपछि डिभिजन वन कार्यालय तनहुँले चितुवा प्रभावित क्षेत्र तनहुँको भानु नगरपालिकामा क्यामरा जडान गरी चितुवाको संख्या र त्यसको आहारा प्रजातिको जनावरको अध्ययन सुरु गरिएको छ । चितुवा र त्यसको आहार प्रजातिको जनावरको क्यामेरा राखेर गणना गर्न थालिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल केदार बरालले जानकारी दिए ।

चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा बराल कै नेतृत्वमा चितुवा गणनाका लागि वडा नम्बर १ देखी ६ का सामुदायिक वनमा ६५ वटा क्यामरा जडान गरीएको छ । तनहुँको भानु नगरपालिकास्थित विभिन्न सामुदायिक वनमा चितुवा गणनाका लागि जडान गरिएको क्यामरामा चितुवा र आहारा प्रजाति देखा परेको उनले बताए ।

भानु नगरपालिका २ स्थित मजुवा ओख्ले सामुदायिक वनमा जडान गरिएको क्यामरामा चितुवा र चितुवाका आहारा प्रजातिका तस्वीरहरु कैद भएको बरालले बताए । क्यामरामा वन विरालो, भालुको बच्च, खरायो, चितुवा लगाएतका जनावरको तस्बीर कैद भएको उनको भनाई छ ।

चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्नका लागि २२ वटा सामुदायिक वनमा शुरु गरेको उनको भनाई छ । १५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना गर्ने उनको भनाई छ । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गणना पछि सहज हुने उनको भनाई छ ।

चितुवा आक्रमणबाट भएको क्षतिपुर्ति बापत सरकारले १ करोड १५ लाख रुपैयाँ सम्बन्धित पक्षलाई राहत दिईसकेको छ । मान्छे बाहेक १ सय ७६ वटा पशुबस्तुको क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese