no comments

पोखरामा अन्नपूर्ण केबलकारको परीक्षण सञ्चालन

सागर राज तिमिल्सिना
पोखरा, १५ मंसिर/ पोखरामा निमार्ण भएको अन्नपूर्ण केबलकार परीक्षण सञ्चालनमा आएको छ । पोखरा–१८ सेदीबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकारको बुधबारदेखी परीक्षण सञ्चालनमा आएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण गरिएको त्रिपाठीले बताए ।

केबलकारमा जडान भएका गोन्डला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट आएको ७ सदस्यीय प्राविधिक टोलीले परीक्षण सञ्चालनमा ल्याएको हो । अन्तराष्ट्रिय मापदण्ड अनुसार सबै प्रकारको चरण पार गरेपछि मात्र व्यावसायिक रुपमा सञ्चालन गरिने र अहिले लोड परीक्षणको काम भइरहेको उनले बताए ।

२.४ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन् । प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ । केबलकार सञ्चालनमा आउदा २५ जना भन्दा बढिले रोजगारी पाउने छन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भएको छ ।

केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने छ । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ । केबलकार निर्माण भएकाले फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिनेछ ।

केबलकार निर्माणमा २ अर्ब बढि खर्च भएको त्रिपाठीले बताए । नेपालीहरुको लागि केबलकारमा जाने र आउने शुल्क ६ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिक लगायतका लागि विशेष छुटको समेत व्यवस्था गरिने निर्देशक त्रिपाठीले जनाए । विदेशीहरुका लागि भने ७ सय र ८ सय रुपैयाँ भाडा कायम गरिएको छ । एसियन पर्यटकलाई प्रतिव्यक्ति ७ सय र अन्य मुलुलकका पर्यटकलाई ८ सय लाग्ने गरी टिकट शुल्क तय भएको त्रिपाठीले जानकारी दिए ।

पोखराको युवा व्यवसायी अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङसहितको टोलीले ४ वर्षअघि केबलकार निर्माण सुरु गरेको थियो । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese