no comments

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनु पर्दैन, मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर हुन्छ –प्रचण्ड

पोखरा, ४ भदौ / नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नपर्ने बताएका छन् ।

एपीवान एचडी टेलिभिजनको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ मा भूषण दाहालसँगको अन्तर्वार्तामा नेकपा अध्यक्ष प्रचण्डले पार्टीको अबको ध्यान महाधिवेशनमा हुने बताएका हुन् । उनले पार्टीमा विवाद पदका लागि नभएको भन्दै पदकै लागि भएको भए पार्टी एकता र निर्वाचन बेला गठबन्धन समेत हुन नसक्ने बताए।

विवाद समाधानका लागि गठित कार्यदलले स्थायी कमिटीमा उठेका विषयमा छलफल गरेर समाधानका लागि प्रस्ताव तयार पार्ने समेत उनको भनाई छ । मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ । प्रचण्डले पार्टीभित्रको विवाद साता दिनभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्ने दावी समेत गरेका छन् ।

उनले महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए । उनका अनुसार अधिकार बाँडफाँट, प्रतिपक्षी दलसमेतको साथमा संवैधानिक नियुक्ति लगायत विषय पनि प्याकेजमा टुंग्याइने छन् ।

नेकपाका दुई अध्यक्ष केपी ओली र दाहालले गत शुक्रबार महासचिव पौडेलको नेतृत्वमा शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए । यो कार्यदलले काम गरिरहेको छ । प्रधानमन्त्री ओलीले गत साता ५ दिनभित्रै पार्टीमा नयाँ सिनारियो देखिने बताएका थिए । दाहालले पनि तत्काल नयाँ परिस्थिति निर्माण हुने बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese