no comments

पोखरामा सोमबार रातिदेखि १ साता निषेधाज्ञा हुने

पोखरा, १ भदौ/ पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि आज (सोमबार) रातिदेखि १ साता निषेधाज्ञा गर्ने भएको छ । पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले भदौ ८ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको हो ।

‘संघ संस्था, कार्यालय केही पनि चल्दैनन्,’ मेयर मानबहादुर जिसीले भने, ‘पूरै ठप्प गर्न भनेका छौं । आजै रातिदेखि यो निर्णय लागू हुन्छ ।’ पोखराका ३३ वडा मध्ये ३१ वटा वडामा कोरोना देखिएको छ ।

निरन्तर संक्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो । बैठकले लकडाउन गर्न सुझाएको थियो । ‘छलफलमै छौं । महानगरको सिफारिस आउला । विज्ञहरुको पनि सुझाव लिएर आवश्यक्ता अनुसार बन्द गर्ने योजना छ,’ कास्कीका सिडिओ ज्ञानप्रसाद ढकालले भने, ‘फोनमा कुराकानी हुँदा स्वास्थ्य विज्ञहरुले पनि लकडाउन गर्दा राम्रो भनेर सुझाव दिनुभएको छ । सम्भवतः लकडाउन हुन्छ ।’

लकडाउन भएपनि अत्यावश्यक सामानको अभाव नहुने उनले बताए । ‘सबैकुराहरु स्टक छन् । केही अभाव हुँदैन,’ उनले थपे, ‘मुभमेण्ट र कार्यालय मात्रै बन्द गर्ने हो । खाद्यान्न लगायत अत्यावश्यक बस्तुको आयात रोकिँदैन ।’

पोखरामा २ सय ४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ भने आइतबार सम्म १ सय २७ जना निको भएर घर फर्किएका छन् । कास्की जिल्लामा अहिले सम्म २ सय ३१ जनामा कोरोना संक्रमित भएका छन् ।

गण्डकी प्रदेशमा १ हजार ९ सय ३९ जनामा कोरोना देखिएको छ भने १ हजार ५ सय ४९ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म ५ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese