no comments

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुभकामना व्यक्त

पोखरा, ५ भदौ/ नेपालीहरुको महान पर्व हरितालिका तीज, २०७७ को पावन अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहीनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा हरितालिका तीजलाई नेपाली महिलाहरुको विशेष पर्वका रुपमा लिइन्छ । यस अवसरमा आफन्त, दिदीबहिनीहरु जम्मा भएर विभिन्न परिकारहरु बनाएर दर खाने प्रचलन छ । महिलाहरुले व्रत बसी, पूजाआजा र नाचगान गरी धुमधामकासाथ यस पर्व मनाउँदै आएको पाईन्छ ।

परम्परागत एवं धार्मिक विश्वास र मान्यताको आधारमा सत्ययुगमा पार्वतीले शिवजीलाई वरका रुपमा पाउने मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको भन्ने विश्वाश रहिआएको छ ।

पितृसत्तात्मक समाजले महिलामाथि थुपारेको भेदभाव, असमानता, अन्याय र अत्याचारको विरुद्ध गीत संगीतको माध्यमबाट आवाज बुलन्द गर्न यो चाडको महत्वपूर्ण भूमिका रहेको छ। यो चाडले दिदीबहिनी तथा दाजुभाईको बीचमा सौहार्दपूण सम्वन्ध कायम गरेको पाइन्छ ।

नेपालमा मनाउने यस्ता मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव एव् साँस्कृतिक सह(अस्तित्व अभिबृद्धि गरी विभिन्न समुदाय र सम्प्रदाय बीचको एकतालाई दरिलो बनाउनुका साथै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुर्‍याउँदै आइरहेका छन् ।

हरितालिका तीज पर्वले पनि सबै जातजाती तथा समुदायबीच आपसी सद्‍भाव, सांस्कृतिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्‍भावलाई प्रगाढ बनाई आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्‍वास लिएको छु ।

साथै हामीले हाम्रा सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा यिनका मौलिक पक्षहरुलाई जीवित राख्‍न र मितव्ययीता अपनाउन आवश्यक भएको कुरामा पनि यस अवसरमा सवैको ध्यानाकर्षण गराउन चाहन्छु। साथै कोभिड १९ को संक्रमण अझैपनि नहटेको हुँदा आवश्यक सुरक्षा र सजकता अपनाउन यस अवसरमा सबैमा हार्दिक अपिल गर्दछु ।

TechSansar.com - Technology Navigator website for Nepalese