no comments

विद्यार्थी नेताहरुले प्रधानमन्त्रीसँग मागे विश्वविद्यालयको उपकुलपति

पोखरा, १५ साउन / पोखरा विश्वविद्यालयमा विगत एघार महिनादेखि रिक्त पदाधिकारीहरुको नियुक्तीको माग गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सभापति सुनिल तिमिल्सिना र पोखरा ईञ्जीनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले संयुक्त रुपमा सो ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पदाधिकारी नियुक्ती छिटै हुने आश्वासन दिएको भेटमा सहभागी विद्यार्थी नेता सन्तोष पोख्रेलले जानकारी दिए ।

विगत ११ महिनादेखि उपकुलपति, रजिष्ट्रार, डिन, कार्यकारी परिषद, प्राज्ञिक परिषद, परीक्षा नियन्त्रक, परीक्षा समिति, निर्देशक लगायतका पदहरु रिक्त हुँदा विश्वविद्यालयका गतिविधिहरु ठप्प छन् । यही कारण गत वर्षको दीक्षान्त, विद्यार्थीहरुको परीक्षा, परीक्षाफल प्रकाशन, शैक्षिक कागजात वितरण, अनलाइन कक्षा तथा परीक्षाबारे नीतिगत निर्णय, बजेट सभा आदि हुन सकेको छैन ।

यी समस्याका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरु लकडाउन अन्त्य लगतै आन्दोलनमा उत्रिएका छन् । यसैको निरन्तरतामा अनेरास्ववियूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको संगठनका पोखरा ईञ्जीनियरिङ्ग कलेज कमिटीका अध्यक्ष सुन्दर गिरीले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese