no comments

पोखरा स्पोर्टस अवार्ड मनोनयन सार्वजनिक

पोखरा, १६ चैत/ खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ स्पोर्टस अवार्डमा परेको खेलाडीहरुको मनोनयन सार्वजनिक गरेको छ । विभिन्न चार विधामा मनोनयन गरिएको खेलाडीहरुको सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

२०७८ साल बैशाख २० गते आयोजना गर्ने पाचौं पोखरा स्पोर्टस अवार्ड २०७७ मा वर्ष पुरुष खेलाडीहरुमा कराँतेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनिया र फुटबलका सुमन अर्याल मनोनयनमा परेका छन् ।

वर्ष महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेको छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा स्वीमिङकी दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्री मनोनयनमा परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा पौडीका आनन्द कुँवर, फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा परेका छन् ।

पोखरा स्पोर्टस् अवार्ड २०७६ विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित गरिएको थियो । खेलमा खेलाडीले देखाएको पर्फमेन्स र प्राप्त अचिभमेन्टलाई आधार मानेर ३/३ जना खेलाडी मनोनयन गरिएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।

यसैगरी खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले सँधै झैं यस वर्षपनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने जनाएको छ । खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकामध्ये १ जनालाई चाँदीको करुवासहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

मञ्चले वर्ष सर्वोत्कृष्ट खेल संघ पनि अवार्ड प्रदान गर्ने भएको छ । मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट यस वर्ष २ जना पत्रकारलाई अवार्ड प्रदान गर्ने छ । पुरस्कृत पत्रकार नाम अवार्ड वितरण समारोहमा एकैपटक उद्घोषण गरिने उनले बताए ।

सर्वोत्कृष्ट पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्नेलाई जनही २/२ लाख रुपैयाँ, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्च कास्कीले जनाएको छ । त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ तथा वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार बिधामा अवार्ड प्राप्त गर्नेलाई नगद ३५/३५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने जनाइएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese