no comments

पाँचौं स्पोर्टस् अवार्ड विशेषः अन्तर्राष्ट्रिय पदक विजेता सुरेश

पोखरा, १५ असार/ रिङमा थिए भारतीय बक्सर–मनोज पिङ्ले । स्वर्णको अपेक्षामा नेपाली बक्सर सुरेश मल्ल ठकुरी प्रतिस्पर्धामा अगाडि बढे । सुरेश त्यसबेलामात्र २० वर्षका थिए । खेल थियो, चौथो साफ च्याम्पियनसीप ।

नेपालको प्रतिनिधित्व गर्दै आजभन्दा ३२ वर्षअघि पाकिस्तानको राजधानी इस्लामावादमा उनी साफ खेल्न गएका थिए । क्वार्टरफाइनलमा सुरेशले बंगलादेशका खेलाडीलाई पाखा लगाइसकेका थिए । सेमीमा पाकिस्तानी अर्का खेलाडीको चुनौती समाप्त पार्दै नजिक नजिक पुगे ।

सुरेशले भारतकै टप बक्सर मनोजसँग फाइनलमा रिङ उत्रिए । बेन्टम क्याटगोरीको खेल थियो । आफ्नो पक्षमा जित आउने आशा गरेका सुरेश त्यसबेला रजतमा सीमित भए । ५१ वर्षीय सुरेशले अहिले सम्झिन्छन्, ‘चौथो साफमा निष्पक्ष रुपमा निर्णय गरी मेरो पक्षमा स्वर्ण भैदिए भए जीवनमै कायापलट हुन्थ्यो । स्वर्ण अक्षरले नाम लेखिन्थ्यो ।’

सुरेशले चौथोमात्र हैन, पाँचौ साग पनि खेले । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित पाँचौ साउथ एशिया फेडेरेसन गेम्स, १९९१ मा उनको नाममा कास्य पदक छ । नेपालमै सन् २०१९ मा भएको १३ आंै सागमा भने उनी प्रशिक्षक थिए ।

त्यस्तै, सन् १९८९ मा इण्डोनेसियामा आयोजित १२ औं प्रेसिडेन्ट कप इन्टरनेशनल एमेच्युर बक्सिङ टुर्नामेन्ट–१९८९ मा उनले भाग लिने अवसर पाएका थिए । त्यसबेला विभिन्न क्याटागोरीमा नेपालबाट ९ जनामात्र खेलाडी छानिएका थिए । तर उनीसहित प्रचण्ड शर्माले मात्र गरी कास्य पदक देशका लागि भित्राए । यो पनि सुरेशका लागि अहिलेसम्मकै सुखद क्षण भएको बताउँछन् ।

खेलकुद क्षेत्र राष्ट्रिय एकताको प्रतीक भएको उनी बताउँछन् । ‘जीवन नै यही खेलमा गयो । अहिलेसम्म पनि रिङमै भेटिन्छु ।’ पोखरा रंगशालमा उनले अझै पनि बिहानबेलुका गरी दैनिक करिब ४० जनालाई बक्सिङ प्रशिक्षण दिने गरेका छन् । हालसम्म उनले ३ सयभन्दा बढीलाई प्रशिक्षण दिइसकेको बताउँछन् ।

कास्की जिल्ला बक्सिङ संघ मार्फत प्रशिक्षण दिने सुरेशमात्र हुन् । उनी हाल पोखरा ७ सुकुम्बासी बस्ती बस्छन् । २२ वर्षदेखि निरन्तर बक्सिङ प्रशिक्षण गर्दै आएका उनले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीलाई पदक जिताउन सफल भएका छन् । सातदोबाटोमा आयोजित प्रथम यु–१९ महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७६ मा उनी प्रशिक्षणको गण्डकीको टिम च्याम्पियन बनेको थियो ।

त्यसबेला गण्डकीले ३ स्वर्ण, २ रजत र ३ कास्य जितेको थियो । यस्तै, भारतको पटियालामा डिप्लोमा इन बक्सिङ कोर्स लिन सफल प्रियंका बर्माका प्रशिक्षक उनै सुरेश हुन् । उनको परिचय अहिले रेफ्री जज हो । परेको बेला रेफ्री र जज दुवै भ्याउँछन् । नाच्न सिपालु उनी बरोबर टिकटकमा पनि भेटिन्छन् ।

सानो छँदा स्कुल आउजाउ क्रममा रंगशालामा बक्सिङ खेलेको देखिरहन्थे । एक दिन कक्षा छोडेर रंगशाला छिरे । हेर्र्दै र बुझ्दै जाँदा उनी पनि यसप्रति आकर्षित भए । सिक्ने हुटहुटी जाग्यो । विद्या मर्सानीले उनलाई ४/५ दिनको कक्षा दिए । त्यसपछि बुटवलमा आयोजित ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०४४ खेल्ने अवसर पाए ।

किनकि उनले पोखरामा छनोटमा रजत जितेका थिए । त्यसपछि क्लोज क्याम्प बसे । क्रमशः विभिन्न प्रतियोगितामा भाग लिँदै गए । १९८८ मा काठमाडौंमा आयोजित चौथो आमन्त्रित बक्सिङ च्याम्पियनसीपको स्वर्ण पनि उनकै नाममा छ । उनी फेदर वेटमा प्रथम भए । कोलम्बोमा आयोजित पाँचौ साउथ एशिया फेडेरेसन गेम्स १९९१ मा कास्य पदक हासिल गरेका उनले १९९४ मा जापानको हिरोसिमामा आयोजित १२ औं एशियन गेम्समा नेपालको तर्फबाट सहभागिता जनाए ।

१९९० मा बेइजिङमा आयोजित ११ औं एशियन गेम्समा पाँचौ स्थान हासिल गरे । सोही उपलब्धिमार्फत उनी बैंककमा सातौ वल्र्ड कपमा भाग लिने अवसर पाएका थिए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पोर्टस् अवार्डमा उनी उत्कृष्ट प्रतिशक विधामा मनोनयनमा परेका छन् । असार १८ मा हुने अवार्ड वितरणमा उनको प्रतिस्पर्धामा पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठसँग हुनेछ । तीमध्ये एकले ३५ हजारसहित अवार्ड जित्ने छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese