no comments

नेपालले चाइनिज ताइपेईलाई २–० गोलले हरायो

पोखरा, २१ जेठ/ फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोट अन्तर्गत दोस्रो चरण खेलमा नेपालले विजयी शुरुवात गरेको छ ।

बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गर्दै दोस्रो जित हात पारेको छ । नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गरेका थिए । सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडीले ह्यान्ड गरेपछि नेपालले फ्रिकिक पाएको थियो ।

नेपालका लागि दोस्रो गोल नवयुगले गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका नवयुगले सुमन अर्यालले दिएको पासमा ८१ मिनेटमा गोल गरेका थिए । नवयुग ६९ मिनेटमा सुनील बलको स्थानमा मैदान छिरेका थिए।

समूह ’बी’ मा रहेको नेपालले दोस्रो जित हात पारेको हो । यसअघि नेपालले ताइपेईलाई नै २–० गोलले पराजित गरेको थियो । जितसँगै नेपालले समूहमा ६ खेलबाट ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको चौथो स्थानमा छ ।

शीर्ष स्थानको अस्ट्रेलियाको ४ खेलबाट १२ अंक छ । दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनले समान १०–१० जोडेका छन् ।

जितसँगै नेपालको समूहमा चौथो भएर एसियन कपको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना बढेको छ । अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ ।

TechSansar.com - Technology Navigator website for Nepalese