no comments

गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी साधन प्रदान

पोखरा, १८ साउन / गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सवारी साधनहरुलाई प्रदान गरेको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई आइतबार हस्तान्तरण गरे ।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गरेको हो । शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती गराउन गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल (पल्सर १८, टिभिएस अपाचे ५ र बुलेट ५) वटा हस्तान्तरण गरेका हुन् ।

चाबि हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यलयहरुबाट उल्लेखनीय कार्य भईरहेको बताए । सवारी साधनहरुले प्रहरी काम कारवाहीमा चुष्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता रहेको बताए । उनले प्रदेश सरकार आफ्नो स्थापनाकाल देखि नै प्रहरी ईकाइहरुलाई स्तरबृद्धि गरी साधनस्रोतले मजबुद बनाउन दृढ रहेको बताए ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले सवारी साधनहरुले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने थप सहयोगि हुने बताए ।

उनले संगठनका तमाम समस्या र चुनौतीहरुलाई परास्त गर्न जिम्मेवारीको बोध, व्यावसायिक सामर्थ्य र जवाफदेहिताको कानूनी र नैतिक साहस आवश्यक भएको बताउँदै उपलब्ध जनशक्ति तथा साधन श्रोतको उचित एवं प्रभावकारी ढँगबाट अधिकतम परिचालन गर्दै उच्च व्यवसायिक नैतिकता तथा पारदर्शी रुपमा समयानुकुल सेवा प्रदान गर्न हरपल क्रियाशिल रहेको बताए ।

कार्यक्रममा स्वागत मन्त्वय राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले सुशासन र शान्ति सुरक्षाको पूर्ण अनुभुति गर्ने नागरिकहरुका चाहना पुरा गराउने कार्यमा प्रदेश सरकारबाट हस्तान्तरण गरिएका उक्त सवारी साधनहरुले सम्पूर्ण प्रहरी कर्मचारीको मनोवल विकास र नागरिक मैत्री प्रहरी सेवा सहितको गुणस्तरिय प्रहरी सेवा प्रदान गर्नमा टेवा पुर्याीउने विश्वास व्यक्त गरीन् ।

TechSansar.com - Technology Navigator website for Nepalese