no comments

गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासमा सोमबार देखी छलफल

पोखरा, १२ वैशाख/ गण्डकी प्रदेश सभा विशेष अधिवेशन सोमबार सुरु हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएपछि विपक्षी दलले मागे अनुसार प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन तोकेका थिए ।

विशेष अधिवशेनको पहिलो बैठकका लागि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकमा पहिलो दिन नै अविश्वासको प्रस्ताव उपर मतदान हुने बारेमा छलफल भए पनि बैठक केही दिन लम्बिने भएको छ ।

पहिलो दिन सबै दलका नेताहरुले बोलिसकेपछि मुख्यमन्त्रीले जवाफ दिनेछन् । भोलिपल्ट पनि छलफल हुने र तेस्रो दिन मतदानमा जाने गरी कार्यसूची तय गर्ने सहमति भएको बैठकमा सहभागी जनमोर्चाका सांसद कृष्ण थापाले बताए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओावादी केन्द्र र राजपाको बैटक बसेर अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सहमती भएको छ ।

जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पक्का भएपछि गुरुङ सरकार ढल्ने लगभग पक्का भएको छ । तै पनि सरकार टिकाउनका लागि आन्तरिक खेल भने भइरहेका छन् ।

अविश्वासको प्रस्तावसँगै ३ दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेका छन् । अविश्वासको प्रस्ताव पारित भएमा कृष्णचन्द्र नेपाली स्वत मुख्यमन्त्री हुनेछन् ।

सरकारमा सहभागी हुने मन्त्रीका बारेमा ३ दलले आन्तरिक तयारी पनि थालेका छन् । अहिले अविश्वासको प्रस्ताव पारित गर्ने प्रमुख विषय भएकाले मन्त्रालय बाँडफाँट प्राथमिकतामा नपरेको दलहरुले बताएका छन् । तर पनि मन्त्रालय र मन्त्री बाँडफाँटका लागि ३ दलले ठूलै कसरत गर्नुपर्ने छ ।

TechSansar.com - Technology Navigator website for Nepalese