no comments

नेपाली काँग्रेसको पोखरामा प्रर्दशन, उल्लेख्य कार्यकता सडकमा

पोखरा, २९ मंसिर / नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नेकपा नेतृत्वको सरकारलाई ‘अपराधी सरकार’ को संज्ञा दिएका छन् । उनले कोरोना संक्रमण नियन्त्रण गर्नुको सट्टा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरी जनतालाई मार्न खोजेको आरोप लगाए ।

देशव्यापी आन्दोलनअन्तर्गत काँग्रेस कास्कीले सोमबार पोखरामा आयोजना गरेको विरोधसभालाई सम्बाधेन गर्दै पूर्व सहमहामन्त्री समेत रहेका काँग्रेस नेता केसीले भ्रष्टाचारी मुलुकको रुपमा कम्युनिष्टहरुले चिनाएको आरोप समेत लगाए ।

उनले लोकतन्त्र र संविधानको जामा ओढेर सरकारले निरंकुश शासन चलाउन खोजेको आरोप पनि लगाए । नेता केसीले राणा, पञ्चायत र राजा फालेको काँग्रेसले कम्युनिष्टविरुद्ध चौथो संघर्षका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘अहिलेको आन्दोलन कास्टिङमात्र हो, चौथो आन्दोलनको लागि तयारी हुनुहोला ।’

नेता केसीले कम्युनिष्टहरु लोकतन्त्रको संरक्षक हुन नसक्ने भन्दै आगामी चुनाव टार्ने रणनीति हुन सक्छ भन्दै त्यसविरुद्ध खबरदारी आवश्यक रहेको बताए । काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले कम्युनिष्टको अधिनायकवादविरुद्ध एक भएर लड्नुपर्ने बेला आएको बताए ।

पूर्व मन्त्री यज्ञबहादुर थापाले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त हुँदा नेपाली जनताले दुःख पाएको बताए । कास्की काँग्रेसका सभापति कृष्ण केसी, तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, काँग्रेस नेता खेमराज पौडेल, सुदीपमोहन भट्टराई, लक्ष्मी पाण्डे लगायतले सरकारका गतिविधिविरुद्ध अभिव्यक्ति दिएका थिए ।

पोखराको चिप्लेढुंगाबाट सुरु भएको काँग्रेसको प्रदर्शन पोखरा बजार परिक्रममा गरी पृथ्वीचोकमा आई विरोधसभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले अहिलेको सरकारको कामकारबाहीप्रति टिप्पणी गर्दै राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध समेत चर्का नाराबाजी लगाएका थिए । प्रमुख प्रतिपक्षी दल काँगे्रेस निदाएको भन्ने आरोप खण्डन गर्दै काँग्रेसले देशभर ठुलो प्रदर्शन गरेको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese