no comments

पोखरामा थपियो जायन्ट स्वीङ

पोखरा, २ माघ/ साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिदै आएको पोखरामा जायन्ट स्वीङ थपिएको छ । स्वीङ थपिए सँगजिपलाइन र बञ्जीजम्प गर्न पाइने भएको छ ।

हाइग्राउण्ड एड्भेन्चर्स नेपाल प्रालिले नेपालमा नै पहिलोपटक सन् २०१२ जिपलाइन, सन् २०१४ बञ्जी जम्पसँगै सोही स्थानमा जायन्ट स्वीङ यस वर्षबाट थप गर्दै सञ्चालनमा ल्याएको छ ।

पर्यटनलाई आकर्षण गर्न सुपरम्यान जिपलाइन र जायन्ट स्वीङ सुरू गरिएको हाइग्राउन्ड एडभेन्चर्स प्रालिका सञ्चालक एवं प्रबन्ध निर्देशन दिनेश महर्जनले जानकारी दिए । उलने नेपालमा नै पहिलो जायन्ट स्वीङ निर्माण गरिएको दाबी गर्दै प्रबन्ध निर्देशक महर्जनले खोलाबाट २६२ फिटमाथि ९८ फिटको टावर निर्माण गरिएको बताए ।

टावरमा रहेको डोरीमा स्वीङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी एक पटकमा तीन जनासम्म खेल्न सकिन्छ । परिवार र साथीहरू सँगसँगै खेल्न सकिने स्वीङ दुईजना मात्र बसेर पनि खेल्न सकिने उनले जानकारी दिए ।

उनले स्वीङको फ्रि फल तीन सेकन्ड र खेलको अवधि तीन मिनेट रहेको बताए । स्वीङको शुल्क दुई हजार, प्रतिव्यक्ति र फोटो भिडिओ टिसर्टको एक हजार २ सय रुपैयाँ रहेको जानकारी दिए ।

स्वीङ गर्न चाहनेका लागि लेकसाइडबाट निःशुल्क ल्याउने लैजाने व्यवस्था समेत रहेको छ । भारतीय प्राविधिकले निर्माण गरेको स्वीङको भौतिक संरचना, आवश्यक एड्भेन्चर गेयर र प्राविधिकको खर्च गरी करिब दुई करोड खर्च भएको सञ्चालक अभिनव चुरिवालले बताए ।

संस्थाले एकै स्थानमा सञ्चालन गरेका जायन्ट स्वीङ, जिपलाइन र बन्जीजम्प गर्न चाहनेका लागि प्याकेजमा रु १० हजार शुल्क निर्धारण गरिएको सञ्चालक भरत गोल्छाले जानकारी दिए । तीनवटै पर्यटकीय गतिविधि सञ्चालनमा ल्याउँदा हालसम्म रु २५ करोडभन्दा बढी लगानी भइसकेको र संस्थामा ५० जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese