no comments

चलचित्र पत्रकार संघ कास्कीले भर्चुअल रुपमा मनायो स्थापना दिवस

पोखरा,  ७ जेठ/ चलचित्र पत्रकार संघको २२ औं स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष रेम विक, सल्लाहकार भोजबहादुर गुरुङ, जितेश प्रधान, राजाराम पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार समाजको सम्भाहक भएको बताइन् ।  चलचित्रले सिङ्गो देश परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उदाहरण दिँदै यसको विकासका लागि चलचित्र पत्रकार संघ कास्कीसँग समन्वय गरेर महासंघले कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले कोरोना संक्रमणका कारण नेपालभर १२ जना पत्रकारले ज्यान गुमाएको जानकारी गराउँदै सुरक्षित तवरले पत्रकारिता पेशामा खटिन आग्रह गरिन् । उनले भनिन्,“ यो बेला जिवन जोगाउने बेला हो ।

आफुलाई जोगाएर पत्रकारिताको धर्म निभाउन आग्रह गर्दछु । रंगपत्रकारमा परेका समस्यामा पत्रकार महासंघ सँगै छ । अप्ठेरो परेको बेला सम्झिन अनुरोध छ  ।” सबै क्षेत्रका पत्रकारको हितका लागि महासंघले कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको उनले बताइन् ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०५५ सालमा भरत शाक्यको अध्यक्षतामा चलचित्र पत्रकार संघको स्थापना भएको जानकारी गराए । २०६० सालमा पोखरामा स्थापना भएको बताउँदै पछिल्लो कार्यसमितिबाट उदाहरणीय काम भएको प्रति खुशी व्यक्त गरे । निवर्तमान अध्यक्ष रेम विकले चलचित्रका क्रियाकलापन नहुँदा पनि संघले कार्यक्रमहरुको आयोजना गर्नु सह्रानिय भएको बताए । कोरोनाका बेला पनि भर्चुअल रुपमा कार्यक्रमको आयोजना गर्न उनले आग्रह गरे ।

गुरुङ फिल्म एशोसियसनका जिफानका अध्यक्ष भोजबहादुर गुरुङले कोरोनाले गुरुङ चलचित्र क्षेत्रलाई असर गरिरहेको जानकारी गराए  । दर्शकमा मनोविज्ञान परिवर्तन भइरहेको बताउँदै  समय अनुसार चलचित्र निर्माणमा परिवर्तन गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।  समय सापेक्षित चलचित्र निर्माणमा जोड दिँदै चलचित्र पत्रकारहरुमा पनि प्राविधिक अध्ययनको आवश्यकता रहेको उनले बताए ।

चलचित्र पत्रकार संघ कास्कीका सल्लाहकार राजाराम पौडेलले महामारीका समयमा सबै एक भएर  हातेमालो गर्दै  अगाडि बढ्नुपर्ने बताए । चलचित्रका गतिविधि नभएता पनि पत्रकारले खोजी गर्नुपर्ने विषयलाई उनले जोड दिए ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले २२ औं स्थापना दिवसका अवसरमा प्रदान गरिने जित प्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्न नपाउँदा दुख लागेको बताए । कोरोना कहर साम्य हुनासाथ उपयुक्त समयको व्यवस्थापन गरी पत्रकारिता पुरस्कार प्रदान गरिने उनले बताए ।

संघले गरेका गतिविधिका बारेमा जानकारी गराउँदै अध्यक्ष गिरीले आफु नेतृत्वको कार्यसमिति आएपछि कोरोना महामारी पनि आएको र सोचेजस्तो काम अझै गर्न नसकिएको बताए । आगामी दिनमा पत्रकार महासंघसँग सहकार्य गरेर चलचित्र क्षेत्रको विकासका लागि कार्यक्रमको आयोजना गरिने उनले बताए ।

कार्यक्रममा सल्लाहकार जितेश प्रधान, चलचित्र व्यवसायी तथा जित प्रसाद द्वा पत्रकारिता पुरस्कारका संस्थापक निकेश द्वाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सचिव प्रभु अधिकारीले गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese