no comments

सांसद र मन्त्रीले सरकारी अस्पतालबाट स्वास्थ्य सेवा लिनुपर्छः हाम्रो परिवर्तन नेपाल

पोखरा, ७ असार/ कोरोनाका बेलापनि सामाजिक क्षेत्रमा सक्रिय संस्था हाम्रो परिवर्तन नेपालले कोरोना महामारीका समयमा जिल्ला स्तरीय सहुलियत पसल सञ्चालन गर्न माग गरेको छ । संस्थाका प्रतिनिधिहरुले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सहुलियत पसल सञ्चालन गरी सर्वसाधरणलाई किनमेलको सहज वातावरण सिर्जना माग गरेको छ ।

समुदायमा रहेका विपन्न परिवारलाई अस्थायी रासन कार्डको व्यवस्था गराउनुपर्ने, घरभाडामा केही छुटको व्यवस्था मिलाउन पहल गर्नुपर्ने माग संस्थाले गरेको छ । ‘सिसी यम सी वा डि.सि यम सीले महामारीका बेला गरेका कार्यक्रमको साप्ताहिक रुपमा वितरण सार्वजनिक गर्नुपर्छ,’ संस्थाका अध्यक्ष डा. ढाका कुमार श्रेष्ठ र सचिव हरि कार्कीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘आम सर्वसाधरणलाई समेत केभिड–१९ को खोप उपलब्ध गराउन प्रदेश सरकारले यथासिघ्र पहल गर्नुपर्छ ।’

कोभिड–१९ ले प्रभावित भएका सम्पूर्ण प्रकारका व्यवसायीहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि संस्थाले माग गरेको छ । ‘यस्तो अवस्थामा कम्तिमा ६ महिनासम्मका लागि शून्य प्रतिशत व्याज दरमा ऋण उपलब्ध गराउन, विमा उपचारमा गुणस्तरीय सेवा प्रदान नभएको जनगुनासो आएको अवस्थामा विमा उपचारका लागि सरकारी तथा अन्य आधिकारिक स्वास्थ्य संस्थाले छुटै विभाग खडा गरी उपयुक्त एवं स्तरीय उपचार सेवा दिनुपर्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘सर्वसाधरणलाई आर्थिक अनुदान तथा सहुलियतको लागि छुटै वित्तिय संस्था खडा गरी सेवा प्रदान गर्नुपर्छ ।’

प्रदेशका सम्पूर्ण सांसद तथा मन्त्रीहरुले आवश्यकीय उपचार सेवा सरकारी अस्पतालबाट नै लिन पनि संस्थाले माग गरेको छ । ‘जसले गर्दा सरकारी अस्पालले प्रदान गर्ने उपचार सेवाको गुणस्तरियताको पहिचान तथा प्रवर्धन हुने अवस्था आउनेछ,’ ज्ञापन पत्रमा छ ।

सार्वजनिक तथा निजी शैक्षिक संस्थाले १ नर्सिङ दरवन्दी कायम गरी आकस्मिक दुर्गटनाका लागि तत्काल नर्सिङ केयर गर्न सहज गर्न, सरकारी स्तरबाट भएका सम्पूर्ण कार्यक्रमको अनुगमनका लागि गैर सरकारी संस्थाको पनि सहभागिता हुन, महामारीको बेला अग्रपंक्तिमा सेवा प्रदान गरिरहेका सुरक्षा निकाय, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न, त्रि.वि. अन्तगर्तका शैक्षिक संस्थाले १८ महिनासम्म परीक्षा संचालन नगरेको हुँदा आम विद्यार्थीहरु ठुलो मर्कामा परेकाले कुनै पनि वैकल्पिक विधिबाट परीक्षा गराउन प्रदेश सरकारका तर्फबाट पहल गरिनुपर्ने माग संस्थाले गरेको छ ।

भिडभाड काम हुने प्रकृतिका व्यवसायहरुलाई यथाशिघ्र व्यवसाय संचालन सुरु गर्न सहजता मिलाउन पनि संस्थाले माग गरेको छ । हाम्रो परिवर्तन नेपाल सामाजिक उत्तरदायित्व वहन गर्दै आएको सामाजिक सेवा मुलक संस्था हो । कोरोना महामारीको विषम परिस्थितिमा संस्थाले विभिन्न समुदायमा गई कोभिड–१९ को स्वाव संकलन तथा परामर्श सेवा प्रदान गरिरहेको छ । विपन्न परिवारलाई खाद्यान्न राहत समेत वितरण गर्दै आएको संस्थाले सामाजिक तवरमा धरै रचानात्मक एवं सेवामुखी कार्य गर्दै अएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese