no comments

दूरी नाप्छिन् दुवाना लामा

पोखरा / उमेरले साढे ५ वर्षमात्र टेकेकी दुवानालाई उनका बावु मुखिया लामाले एक दिन स्वीमिङ पुल लगे । बालुवाटारस्थित जोन डीई स्कुलबाट लाजिम्पाट नजिकै थियो । त्यहाँको शंकर होटलको स्वीमिङ पुल छिरेकी सानी छोरी दुवाना पौडीमा रमाइन् ।

एकपछि अर्को गर्दै कहिले शंकर, कहिले अन्नपूर्ण, कहिले गोदाबरीको स्वीमिङमा भेटिन थालिन् । दुवानाको पौडी कला देखेपछि शुभ श्रेष्ठले मुखियालाई सुझाव दिए, ‘छोरीलाई राम्रोसँग पौडी सिकाउनुपर्छ । भविष्यमा नाम राख्न सक्छिन् ।’ हुन पनि १३ औं सागहोस् वा आठौं राष्ट्रिय खेलकुदसहित विभिन्न प्रतियोगितामा पदक हासिल गरेर सानै उमेरमा नाम चम्काएकी छन् ।

मनाङको निसाङ गाउँपालिका ८ घर भइ हाल काठमाडौं निवासी मुखिया र मेरी लामाको एकमात्र सन्तान हुन्, दुवाना लामा । उनको जन्म २०६३ असार ३० मा भएको हो । उनै १४ वर्षीया दुवाना पाँचौ पोखरा स्पोर्टस् अवार्ड– २०७६÷७७ को उदीयमान खेलाडीको मनोनयनमा परेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौं संस्करणको स्पोर्टस् अवार्डमा उनी सबैभन्दा कान्छो उमेरकी खेलाडी हुन् ।

उनले १३ औं सागमा टिम रिलेमा ३ स्वर्ण र एकलतर्फ २ रजत पदक जितेकी थिइन् । एकलतर्फ उनले २०० मिटरको ब्रेस्टस्ट्रोक र बटरफ्लाईमा स्वर्ण जितेकी हुन् । ६ वर्षको हुँदा नै काठमाडौंमा एलए कपमा योङ्गेस्ट प्लेयर उपाधि जितेकी उनी निरन्तर पौडेरै दूरी घटाउनेतर्फ केन्द्रित बनिन् ।

फलस्वरुप नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र ४ रजत जित्न सफल भइन् । त्यसबेला २०० मि. बटरफ्लाई क्याटागोरीमा नेशनल रेकर्डसमेत तोड्न सफल उनको नाममा विभिन्न प्रतियोगितामा ५० मि.ब्रेस्टस्ट्रोक, २०० मि. ब्रेस्टस्ट्रोक र २०० मि.को नेशनल रेकर्ड रहेको बावु मुखियाको दाबी छ ।

साथै सन् २०१९ मा बैंलोरमा भएको एशियन एजग्रुप लङ कोर्स च्याम्पियनसीपमा ५०, १०० र २०० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय रेकर्ड कायम गरेकी उनै दुवाना थप प्रशिक्षणका लागि २ वर्षदेखि थाइल्याण्ड छिन् । कक्षा ९ मा पढ्दै उनले पौडीकला अगाडि बढाएकी हुन् ।

उदीयमान खेलाडी विधामा दुवानासहित यसपालि लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री पनि मनोनयनमा छन् । तीमध्ये उत्कृष्ट एक जनाले असार १८ मा हुने स्पोर्टस् अवार्डमा ३५ हजारसहित अवार्ड जित्ने छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese