no comments

स्वर्णचुल राजचिचिल्कोटे ४५ वर्ष पछि भेटियो पोखरा उपत्यकामा

पोखरा, ३० पुष/ विरल तथा स्थानिय आबासिय स्वर्णचुल चिचिल्कोटे ४५ वर्ष पछि दोस्रो पटक पोखरा उपत्यकामा हालै अभिलेख गरिएको छ । राष्ट्रिय स्तरमा संकटापन्न यस प्रजातिलाई सन् १९७७ मा वरिष्ठ चराविद हरिशरण नेपाली काजीले रुपाताल आसपासको क्षेत्रमा पहिलो पटक भेटेका थिए ।

पंछी अवलोकनका क्रममा पर्यटन ब्यवसायी दामोदर भक्त थापाले पनि रुपातालकै क्षेत्र आफ्नै होटल रुपा भ्यू परिसरमा फोटो सहित उपत्यका का लागि दोस्रो पटक अभिलेख गराएका छन् ।

सन् १८३८ मा नेपालका लागि ब्रायन हड्सनले पहिलो पटक अभिलेखका साथै नमुना संकलन गरेको यस प्रजाति हालका दिनमा चितवन राष्ट्रिय निकुञ्जको चुरे क्षेत्र आसपासमा धेरै देखिएको छ । गण्डकी प्रदेश भन्दा पश्चिम तिर हाल सम्म अभिलेख नभएको यो प्रजाति पूर्वमा भने झापा सम्म देखिएको तर अत्यन्तै विरल रुपमा भेटिएको नेपालको संकटापन्न पंछी सम्बन्धी रातो किताबमा उल्लेख गरिएको छ ।

हालका दिनमा चराको संख्या बढ्दै गरेकोमा पोखराका पुराना चराविद तथा पोखरा पंछी समाजका सल्लाहकार हरि के।सि। स्मरण गर्छन्, हिजोका दिनहरुमा प्रजातिको नमुना संकलन गरेर अभिलेख राखिने चलन पछि गएर पंछीविदहरु तथा विशेष गरि पर्यटन क्षेत्रमा आबद्ध पंछीप्रेमी, नेचरगाईड र पथ प्रर्दशकहरुले कामको सिलसिलामा विभिन्न स्थानमा घुम्दा देखेको आधारमा अभिलेख राखिने गरिन्थ्यो ।

तर आजका दिनहरुमा अध्ययन, अनुसन्धान र चरामा लगाब राख्नेहरु बढ्दै गएको तथा प्रविधिको विकासले फड्को मारेर सुविधायुक्त क्यामेराहरु बनेपछि प्रजातिलाई हेरेर मात्र भन्दा पनि फोटो खिचेर पूर्ण रुपमा हेरेर सामाजिक सञ्जालमा राखिने भएकोले प्रजातिको अभिलेख राम्रो तथा बढ्दै गएको बताउँछन् चराविद केसि ।

उपत्यकाका कतिपय स्थानमा अध्ययन तथा अनुगमन बाँकी रहेको, प्रबिधिको आधुनिकीकरण र जनशक्तिको ब्यापक परिचालनले गर्दा नयाँ प्रजाति थपिदै गएको समेत बताउँछन् समाजका अध्यक्ष मनशान्त घिमिरे । सन् २०१९ सम्म उपत्यकामा ४६७ प्रजातिको अभिलेख भएको पोखरा उपत्यकाका चराहरु नामक पुस्तकमा प्रकाशित भए पनि हाल संख्या बढेर ४८५ पुगेको बताउँछन् उक्त पुस्तकका लेखक तथा समाजका अध्यक्ष घिमिरे ।

TechSansar.com - Technology Navigator website for Nepalese