no comments

सुपर मादी हाइड्रोपावरको ७५ प्रतिशत काम सकियो, अर्को चैत सम्ममा उत्पादन

सागर राज तिमिल्सिना
पोखरा, ११ चैत/ कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावटको सुपर मादी जलविद्युत (हाइड्रोपावर) को काम ७५ प्रतिशत सकिएको छ । लकडाउनका बेला पनि धमाधम काम भएका कारण यस्तो सफलता मिलेको आयोजनाले जनाएको छ ।

७ अर्ब ६५ करोड लागत अनुमान गरिएको आयोजना २०७८ को असारमा सक्ने लक्ष्य भए पनि चैत सम्म सकिने सुपर मादी हाइड्रोपावर प्रालिका सञ्चालक धनराज आर्चायले जानकारी दिए ।

लकडाउनका बेला कामदार कम हुदाँ सयम र लागत दुबै बढाएको आर्चायले बताए । प्रति मेगावट १७ करोडभन्दा कममा आयोजना सक्ने लक्ष्य राखे पनि कोरोनाले लगानी बढेर ८ अर्ब पुग्न सक्ने उनको भनाई छ ।

मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ७ किलोमिटर सुरुङ मार्ग छ । त्यस मध्ये ६ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ भने १ किलोमिटरको काम भईरहेको छ । मादीको सोंदामा पावर हाउस रहने छ । अहिले कलबन्दीमा जलविद्युत आयोजनाको ड्यामसाइटको काम अन्तिम चरणमा रहेको छ भने सुरुङ मार्ग र पावर हाउस निर्माणको काम चलिरहेको आचार्यले बताए ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता छ । विद्युतगृहदेखि माथिल्लो मादीको पावरहाउस सम्म करिब ९ किलोमिटर प्रसारण लाइनको काम पनि शुरु भएको आर्चायले बताए । अहिले ७ सय भन्दा बढि कामदारले काम गरी रहेका छन् ।

सानिमा बैंकको अगुवाईमा एनआईसी एसिया, एनसीसी, सनराइज, कुमारी, कृषि विकास, राष्ट्रिय वाणिज्य र प्रभु बैंकले ५ अर्ब ७५ करोड लगानी गरेका छन् । बाँकी रकम भने लगानीकर्ताले नै लगानी गरेका छन् । हाइड्रोपावरले प्राथमिक सेयर निष्काशनको तयारी समेत गरेको छ । प्राथमिक सेयरको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त गरी सकेको छ ।

जारी पुँजी दुई अर्व १० करोड मात्र मध्ये ३१ करोड ५० लाख बराबरको १०० अंकित दरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । त्यस मध्ये ३० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानियवासीलाई छुट्एको आर्चायले बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese