no comments

आत्मनिर्भर बन्न सिकाउँदै लेकसाइड लायन्स

पोखरा, ११ साउन / घरमुनि पोहोर सारेको कागतीको बोट हेर्दै पोखरा–२४ बडहरेका उमानाथ तिमिल्सिना अनुहार । घरकै छेउछाउमा छन्, शितल चिनी, चिउरी, निमारो, जामुन र बकैनाका बोट । केही वर्षपछि डाले घाँस खोज्न टाढा जानुनपर्ने भएपछि उनी हर्षित छन् । बडहरेका स्थानीयले हरेक घरमा फलफूल, डाले घाँस, कफि लगायतका विरुवा हुर्काएका छन् ।

गत वर्ष लायन्स क्लब अफ पोखरा लेकसाइडले २० घरलाई एक हजार २ सय ५० विरुवा बाँडेको थियो । तिनै विरुवा हुर्किएका हुन् । शितल चिनी, कफि लगायतले फल दिन थालेका छन् । अन्य फलफूलका बोट हुर्किँदै छन् । किसान उमानाथ तिमिल्सिनाले रोपिएका विरुवामध्ये ९५ प्रतिशत सप्रिएको बताए । ‘अब अलि वर्षपछि घरमा फलफूल किन्न पर्दैन,’ उनले भने, ‘घाँसको पनि दुःख नहुने भयो ।’

वार्षिक कार्यक्रम अन्तर्गत क्लबले यस वर्ष पनि बडहरेमा विरुवा बाँडेको छ । आइतबार बडहरेको इन्द्रेणी अग्र्यानिक फार्ममा एक कार्यक्रम गरी क्लबले ४ सय ५० विरुवा वितरण गरेको हो । क्लबले कागती, सुन्तला, कोइरालो, टाँकी, चाँप, लप्सी, तेजपात, अमला, कफि र निमारोको विरुवा किसानलाई बाँड्यो । कार्यक्रममा प्रमुख अतिथि लायन्स ३२५ बी १ का प्रथम डिस्ट्रिक्ट भाइस गभर्नर विशेश्वर आचार्यले किसानले प्राप्त गरेको विरुवाको सही प्रयोग गर्दै अर्थोपार्जनसँग जोड्नुपर्ने बताए ।

‘जीवनमा केही न केही रुपान्तरण आवश्यक छ,’ उनले भने, ‘अहिलेको आवश्यकता भनेको आत्मनिर्भर बन्नु हो ।’ क्लस्टर चिफ कुलचन्द्र शर्माले विरुवाको संरक्षण गर्दै उत्पादनसँग जोड्न किसानलाई आग्रह गरे । जोन चियर पर्सन नवराज भण्डारीले क्लब आफैंले वृक्षारोपण गर्नुभन्दा समुदायमा बाँड्दा कृषक लाभान्वित हुने बताए ।

क्लबका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले किसानको आवश्यकता र भूगोलको प्रकृतिको आधारमा विरुवा वितरण गरेको उल्लेख गरे । ‘महानगर कृषि शाखा, डिभिजन वन कार्यालयसँगको समन्वयमा माटो र हावापानी सुहाउँदो विरुवा बाँडेका हौं,’ उनले भने, ‘हामी यसको निरन्तर निगरानी पनि गर्छौं ।’

क्लबका प्रथम उपाध्यक्ष झवि अधिकारीले पाखोमा विरुवा रोपेर छोड्दा संरक्षण नहुने भएकोले किसानलाई वितरण गरेको बताए । कार्यक्रम संयोजक इन्द्रमान चौहानले व्यावसायिक कृषि मार्फत नगदेबालीलाई प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको जनाए । क्लबलाई इन्द्रेणी अग्र्यानिक फार्मले विरुवा सहयोग गरेको थियो । लायन्सको टोलीले गत वर्ष सारिएका विरुवाको पनि अवलोकन गरको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese