no comments

आहाराराः संकटालाई हराउदैै मछिन्द्र सेमिफाइनलमा

पोखरा, १० माघ/ साविक विजेता संकटा क्लबमाथि हराउदै मछिन्द्र फुटबल क्लब २० औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनलमा संकटालाई ४–१ ले पराजित गर्दै एपिएफ सगँको भेट पक्का गरेको हो । मछिन्द्रको जितमा मेसुके ओलुमोउले दुई तथा उत्सव राई र अभिषेक गुरुङले समान एक गोल गरे । संकटाका गणेश हमालले एक गोल फर्काए ।

१३ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । अभियान प्रधानले जय गुरुङबाट खोसेको बललाई उत्सवले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाट गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।
२७ औं मिनेटमा रेजिन सुब्बाको प्रहारलाई गोलरक्षक राजा बाबु थापाले पञ्च गर्दै बचाए ।

२९ औं मिनेटमा फोडे फोफानाको पेनाल्टी बक्सबाहिरको प्रहार पहिलो बारबाट थोरै बाहिरिदा संकटा बराबरीबाट चुक्यो । ३१ औं मिनेटमा अभिषेक रिजालले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा मछिन्द्र अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३५ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरज बस्नेतको हेडर सदुपयोग हुन सकेन । ४७औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे ।

नाथानिल जुडे गार्सियाको पासलाई अफसाइड पोजिसनबाट नियन्त्रणमा लिदै अभिषेक रिजालले उपलब्ध गराएको पासलाई मेसुकेले सहजै गोल गर्न सफल भएका थिए । उनी आहा राराकै लागि एनआरटीबाट मछिन्द्र पुगेका थिए । ५७ औं मिनेटमा मेसुकेको क्रसमा रेजिन सुब्बाको फ्लिकलाई डिफेन्डर निरज बस्नेतले क्लियर गरिदिए ।

६३ औं मिनेटमा सब्सिच्युट गणेश हमालले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । अमित तामाङको कर्नरमा निरज बस्नेतको हेडलाई गणेशले पनि हेडमार्फत नै गोल गर्न सफल भएका हुन् । उनी दोस्रो हाफको शुरुमै जय गुरुङको स्थानमा मैदान छिरेका थिए ।

७४ औं मिनेटमा गणेश हमालले सुवर्ण अवसर गुमाउँदा संकटा पनि बराबरीबाट चुक्यो । ८४औं मिनेटमा सब्सिच्युट फरवार्ड अभिषेक गुरुङले गोल गर्दै मछिन्द्रलाई ३–० ले अघि बढाए । अमित तामाङले रेजिन धिमाललाई लडाएपछि प्राप्त फ्रिकिकमा ओमोलाजा नुरेन करिमको फ्रिकिकलाई गोलरक्षक राजाबाबुले बचाएपनि रिवाउन्डमा अभिषेकले गोल गर्न सफल भए ।

८६ औं मिनेटमा मेसुके ओलुमोउल व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मछिन्द्रको जित पक्का गरे । नाथानिल जुडे गार्सियाको पासमा उनले दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । मछिन्द्रले फाइनल प्रवेशका निम्ति बुधबार एपिएफसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत भोली अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

TechSansar.com - Technology Navigator website for Nepalese