no comments

कक्षा ११ मा नयाँ व्यवस्था, संकाय छुट्याउन नपाइने

काठमाडौँ, ७ भदौ / अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा संकायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन संकायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो संकाय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए । उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए ।

यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर संकायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक/एक विषय ऐच्छिक गरी छ वटा विषय अध्यापन गराइन्छ ।

विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइने भएको हो । एकल पथीय प्रणालीमा संकाय छुट्याएर अब भर्ना हुँदैन र पठनपाठन पनि हुँदैन । साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ ।

कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो । आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डित समाचार लेखेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese