no comments

घनश्याम लामिछानेको निर्देशनमा शिव वाग्ले र जानकीको अभिनय, म्युजिक भिडियो सार्वजनिक  

पोखरा / चलचित्र निर्देशक घनश्याम लामिछानेको निर्देशनमा एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा पत्रकार सम्मलेनको आयोजना गर्दै म्युजिक भिडियोे सार्वजनिक गरिएको हो । रामकृष्ण ढकालको आवाज, गीतकार विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको गीत “तिमीलाई पर्खी बसे..” सार्वजनिक भएको हो ।

चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामिछानेले गीतको म्युजिक भिडियोमा सच्चा प्रेमीको कथालाई प्रस्तुत गर्न खोजिएको बताएका छन् । तीन दिन लगाएर पोखराको सराङकोट र लेकसाइडमा छायांकन गरिएको म्युजिक भिडियोमा शिव वाग्ले र जानकी थापाको अभिनय रहेको छ । श्याम शुक्ला फिल्म प्रोडक्सनबाट निर्माण भएको म्युजिक भिडियोमा अभिनयको अनुभव साट्दै शिव वाग्लेले घनश्याम लामिछानेको टीमसँग काम गर्न सहज भएका कारण आफूले निर्देशकमा लामिछानेलाई रोजेको बताए ।

१५ वर्ष अगाडि एउटा म्युजिक भिडियोमा अभिनय गरेका वाग्लेको यो दोस्रो म्युजिक भिडियो हो । लकडाउनका बेला आफूलाई अभिनयमा फेरि ब्युतिने इच्छा जागेको उनले बताए । कोरोना महामारीमा बन्दाबन्दीका समय उनले अनलाइनबाटै अभिनय शिक्षा समेत लिएका थिए । धेरै समयको अन्तरालमा अभियनमा फर्किदा शुरुमा केही असहज भएता पनि टीमको सहयोगले आफूलाई सहज भएको उनले बताए । म्युजिक भिडियोबाट वाग्ले आशावादी देखिन्छन् ।

यस्तै, पहिलो म्युजिक भिडियो मार्फत अभिनयमा हाम फालेकी जानकी थापा लामिछानेको निर्देशनमा बनेको म्युजिक भिडियोलाई अवसरको रुपमा लिन्छिन् । “मोडलिङ र अभिनयमा पहिले देखिको इच्छा भएता पनि समय जुरेको थिएन”, उनले भनिन्, “हाल आएर समय मिलेको छ, अब यसैमा लाग्ने सोच बनाएकी छु ।” राम्रो टीम र राम्रो गीत पाए आगामी दिनमा पनि म्युजिक भिडियो अभिनयमा निरन्तरता दिने प्रतिबद्धता उनको छ ।

म्युजिक भिडियोका सिनेमेटोग्राफी सागरराज आचार्यले पोखरामा आफूले पहिलो पटक गीतको म्युजिक भिडियो खिचेको बताए । अमेरिकाबाट फिल्म मेकिङ पढेर आएका अचार्यले लामिछानेको टीममा रहेर काम गर्दा आफूलाई सिक्ने अवसर समेत मिलेको बताए ।

म्युजिक भिडियो  कन्सेप्ट लामिछानेकै हो  । जीवन थापाले सम्पादन गरेको म्युजिक भिडियोमा अतिथि कलाकारको भूमिका देशभक्त सिंह कुँवरले निर्वाह गरेका छन् । म्युजिक भिडियोमा प्रकाश व्यवस्थापन अमृत थापा मगर र गोपाल भट्टराईको छ । गीतलाई श्याम शुक्ला फिल्म प्रोडक्सनकै अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सह—सचिव सन्तोष बस्यालले गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese