no comments

पोखरामा आन्तरिक उडान सुरु, सबै सुरक्षा अपानाएका छौ –थापा

पोखरा, ५ असोज / आन्तरिक उडान खुला भएसँगै पोखरा विमानस्थलमा पनि सोमबारदेखि चहलपहल सुरु भएको छ । कोरोना भाइरस जोखिमसँगै गत चैत ११ देखि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि देशैभरका विमानस्थल सुनसान बन्दै आएका थिए ।

काठमाडौंबाट पोखराको सोमबार बुद्ध र यति एयरलाइन्सले चार उडान भएका छन् । पहिलो उडान बुद्ध एयरको जहाज ६ महिनापछि ५ बच्चासहित ५६ यात्रु बोकेर बिहान ८ बजेर ४५ मिनेटमा पहिलो पटक ल्याण्ड भएको थियो । ७२ सिटे जहाजमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै ५६ यात्रु आएकोमा पुनः पोखरा–काठमाडौं उडानका लागि ९ बजेर ४५ मिनेटमा ५८ यात्रु बोकेर उडेको बुद्ध एयरका पोखरास्थित स्टेशन इञ्चार्ज गौतम बरालले जानकारी दिए ।

देशभर पोखरा, भद्रपुर, नेपालगञ्ज, भैरहवा, जनकपुर, भरतपुर, विराटनगर र वीरगञ्ज विभिन्न कम्पनीका जहाजहरुले १० उडान भरेका छन् । प्राधिकरणको अनुमतिसँगै कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उडान थालेको वायु सेवा संचालक संघ, नेपालका अध्यक्ष क्या.रामेश्वर थापाले बताए । पोखरामा पत्रकार सम्मेलन गरी सुरक्षाका सबै साबधानी अपनाएको उनले बताए ।

बुद्ध र यति एयरलाइन्स

बुद्ध र यति एयरलाइन्स

थापाले वायु सेवाहरुले ६ महिनायता १० अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोरेको बताए । उनले नेपालको पर्यटन क्षेत्र ९० प्रतिशत विदेशी पर्यटकहरुमा आश्रित रहेको भन्दै वायुसेवाहरु पनि विदेशी पर्यटककै भर रहेकोले अहिलेलाई आन्तरिक पर्यटक कै भर रहेको बताए । विमानस्थलको भीड व्यवस्थापन तथा माग आधारमा उडानको कोटा निर्धारण गरिएको छ ।

उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने छ । विमानस्थलभित्र वास प्वाइन्ट राख्नुपर्ने छ भने फेसशिल्ड समेत विमान कम्पनीले यात्रुलाई उपलब्ध गराउनुपर्नेछ । जसको लागत यात्रुको टिकटमै जोडिएको हुन्छ । कोरोना भाइरसको संक्रमणसँगै सुरु भएको लकडाउनले बन्द रहेको आन्तरिकतर्फको नियमित उडान खुले पनि अवस्था हेरी हाललाई न्यूनतम संख्यामा मात्रै उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीहरूले जनाएका छन् ।

पहिले पोखरा विमानस्थलमा हवाइजहाज, हेलिकोप्टर र अल्ट्रालाइट गरी दैनिक एक सय वटासम्म उडान हुने पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले जानकारी दिए । विमान कम्पनीबाट सरदर ४० उडान हुने गरेको थियो । काठमाडौं–पोखरा सरदर २२ देखि २५, पोखरा–जोमसोम ८ देखि १०, पोखरा–भैरहवा २, पोखरा–भरतपुर १, पोखरा–विराटनगर १ वटासम्म उडान हुने गर्दथ्यो ।

TechSansar.com - Technology Navigator website for Nepalese