no comments

पोखरामा चाडपर्व लक्षित गरी बजार अनुगमन तिव्र

पोखरा, २७ कात्तिक / पोखरामा चाडपर्वमा लक्षित गरेर बजार अनुगमनलाई तिव्र पारिएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्वलाई लक्षित गरेर पोखराका विभिन्न स्थानहरुमा तिहारमा बढी खपत हुने उपभोग्य सामग्री माथि अनुगमन गरेको हो ।

बुधबार गरिएको बजार अनुगमनमा मिठाइ, भाइ मसला, खाद्यान्न, लगायतमा अनुगमन गरिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिनुभयो । अनुगमनमा मिठाइमा अखाद्य रंग प्रयोग नगर्ने, गुणस्तरहीन कच्चा पदार्थ प्रयोग नगर्न, खुला ठाउँहरुमा मिठाइ राखेर बिक्री वितरण नगर्न, तेल घिऊलाई पुर्न प्रयोग नगर्न, अनुगमन समितिले निर्देशन दिएको छ ।

कोइरालाले भाइ मिठाइमा राखिने बस्तु काजु, किसमिस, ओखर, बदामको थोक मूल्य घटे पनि प्याकेजिङ गरेर बेच्नेहरुले मुल्य दोब्बर बनाएर बेच्ने गरेको भेटिएको बताउनुभयो । उहाँले आम उपभोत्तालाई भाइ मसला खरीद गर्दा प्याकेजिङ गरिएको भन्दा खुद्रा रुपमा खरीद गर्न समेत आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल मिठाइको प्रति इकाइ लागत कसरी कायम गरिएको हो, सो को विवरण कारण सहित खुलाएर दुई दिन भित्र निर्देशनालयमा पेश गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश बजार अनुगमन समिति सदस्य सचिव भरतमणि बरालले अनुगमनलाई निरन्तर गरिने र दिएका निर्देशन पूरा नगरे अर्कोपल्ट कार्वाही हुने बताउनुभयो । सो अनुगमन कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत शिवजी बराल , नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि रघुनाथ पौडेल र निर्देशनालयका वरिष्ठ अधिकृत प्रदिप रेग्मी, अधिकृत नेत्र प्रसाद पौडेलको लगायतको उपस्थिति रहेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese