no comments

गण्डकी प्रदेश सरकारको खेलकुद पूर्वाधारका योजना कार्यान्वयनमा चुनौति

पोखरा, ६ भदौ/ खेल मैदानका लागि उपयुक्त जग्गा छैन् । भेटिएको जग्गामा व्यक्तिको समेत पर्ने भएपछि मुअब्जा तिर्नुपर्ने बाध्यता । अर्को तर्फ नापी नै नभएको जग्गा । गण्डकी प्रदेश सरकारले खेलकुदको योजना पुरा गर्ने आफ्ना महत्वपूर्ण चाहना तत्कालै पुरा गर्ने सम्भावना कम छ ।

‘अन्तराष्ट्रिय क्रिकेट मैदान, प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला, गल्फ कोर्ष, हाईअल्टिच्युड खेल तालिम केन्द्र र एक स्थानीय तह एक खेल मैदान’ गण्डकी प्रदेशका योजना हुन् । तीन वर्षे कार्यकालमा कुनैपनि योजनाले अहिले सम्म मुर्त रुप लिने सम्भावना देखिएको छैन् । पोखरा रंगशालाभित्रै गल्फ कोर्ष ट्रेनिङ सेन्टर बनाउने चाहना राखेपनि बजेट विनियोजन गरिएको छैन् । रंगशालाभित्र बढीमा तीन होलको ट्रेनिङजोन मात्रै हुने छ ।

अन्तराष्ट्रिय क्रिकेट मैदानको लागि पोखरा–३२ पशुपतिघाटमा जग्गाको भोगाधिकार प्रदेश सरकारले पाएको छ । विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरिएको छ । सम्भव हिउँददेखि काम गर्ने सम्भावना रहेको छ । त्यसको लागि मात्रै प्रदेशसकारको रातो किताबमा परेको बजेट छ।

त्यो बाहेक प्रदेश सरकारको अन्य योजना कागजमा मात्रै देखिएका छन् । ‘गल्फको लागि पोखरा¬–१६ को जग्गा हेरियो । बीच बीचमा व्यक्तिको जग्गा पर्ने रहेछ’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले भने–‘व्यक्तिको जग्गालाई मुअब्जा दिन सकिने अवस्था छैन् । त्यसैले रोकिएको छ ।’

उनका अनुसार हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै बारागँमुक्ति क्षेत्रको जग्गा उपयुक्त ठहर्याइएको थियो । तर त्यो जग्गा पनि नापीनक्सा नभएकोले समस्या सृजना भएको छ । ‘नापीनक्सा नै रहिन्छ । भूमीसुधार मन्त्रालय मार्फत जग्गाको नापजाँचको लागि प्रस्ताव गरेका छौं ।’ उनको भनाई थियो । कास्की जिल्ला गल्फ संघले पोखरा–१ बगर पृथ्वीनारायण क्याम्पस सेतीनदी किनारको जग्गालाई पनि कोर्ष बनाउन सकिने उल्लेख गरेको छ ।

क्याम्पसको नदीकिनारमै रहेको जग्गालाई कोर्ष बनाउँदा अरुलाई समस्या नहुने संघले दावी गरेको छ । ‘क्याम्पस भन्दा तलको नदी किनारको जग्गा ९ होलको लागि उपयुक्त हुन्छ’ कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्षिमप्रसाद गुरुङले भने–‘क्याम्पससँग पनि आवश्यक कुराकानी भएको छ । जग्गा क्याम्पसले हकभोग गरेपनि प्रयोगमा ल्याएको छैन् ।’ प्रदेशस्तरीय रंगशाला निर्माणको योजना अघि सारेपनि अझसम्म जग्गा प्राप्त भने प्रदेश सरकारलाई भईसकेको छैन् ।

योजना केवल कागजीरुपमा मात्रै देखिन पुगेको छ । पोखरा–१४ छिनेडाडाँस्थित फुलबारी रिसोर्टमा रहेको ९ होलको कोर्षलाई समेत प्रयोगमा ल्याउन सकिन्छ । तनहुँ खैरेनीस्थित नेपाली सेनाको ३ नम्बर बाहिनीमा समेत एक दशकअघि ९ होलको कोर्ष निर्माण गरिएको थियो । प्रदेश सरकारले त्यसलाई पनि आवश्यक मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सक्ने गल्फरहरु बताउँछन् । यद्यपी त्यो नेपाली सेनाको मातहतमा रहेको छ ।

खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला निर्माण पहिलो एजेण्डा हो । गण्डकी प्रदेश सरकारको पहिलो आर्थिक वर्षको बजेटबाटै यो एजेण्डालाई समेटिएको थियो । वर्षेनी एजेण्डा बजेटमा समेटिदैं आउने गरेको छ । यद्यपी ठोस निर्णयसहितको बजेट निकासा भने हुनै सकेको छैन । बहुउद्देश्यीय रंगशाला कुन ठाँउमा बनाउने भन्ने बारेमा प्रदेश सरकारले निक्र्यौल गर्न सकेको छैन् । खेलकुद पूर्वाधारको योजना कार्यान्वयन गर्न प्रदेश सरकारलाई चुनौतिको पहाड नै छन् । खेलाडीन्युज डटकमबाट

TechSansar.com - Technology Navigator website for Nepalese