no comments

प्रदेश २ सरकारः मुख्यमन्त्री सहित सबै मन्त्री फेर्ने तयारी

काठमाडौं, १२ भदौ / प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री सहित सबै मन्त्री परिवर्तन गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै जसपाले सरकार परिवर्तन गर्न लागेको हो ।
सात प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपा नेतृत्वको एकल सरकार छ । प्रदेश २ मा जसपाले एकल सरकार बनाएको छ ।

राजपा र संघीय समाजवादी मिलेर २ नम्बर प्रदेशमा सरकार गठन गरेको भए पनि अहिले ती दल मिलेर जसपा बनेको हो ।
जसपा नेतृत्वले २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतको अढाई वर्षे कार्यकाल पार्टीले सोचेअनुसारको प्रतिफल दिन नसकेको निष्कर्षसहित पूरै टिम परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी घोषणापत्र, मधेस आन्दोलनको भावना तथा जनताको चाहनाअनुसार राउत सरकारले काम गर्न नसकेको जसपाको निष्कर्ष रहेको छ । मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टीबाट संसदीय दलको नेता चयन भएका थिए । राजपाबाट संसदीय दलको नेतामा जितेन्द्र सोनल छानिएका थिए ।

सोनल अहिले भौतिक योजना मन्त्री छन् । दुई दल एकीकरण भएकाले २ नम्बर प्रदेशमा जसपाको संसदीय दलको नेता चयन गर्नुपर्ने अवस्थासमेत आएको छ । अब पार्टी एकीकरण भइसकेको अवस्थामा दुई जना संसदीय दलको नेता नहुने र नयाँ बन्ने नेता नै मुख्यमन्त्री हुने जसपाले बताएको छ । आजको राजधानी दैनिकमा सुभाष साहले समाचार लेखेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese