no comments

कास्की काँग्रेस प्रदर्शनको तयारीमा

पोखरा, २१ मंसिर / नेपाली काँग्रेस कास्कीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत पोखरामा प्रदर्शन गर्ने भएको छ ।
पार्टीको मंसिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि प्रदर्शनका लागि तयारी शुरु गरेको छ ।

नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको आइतबार बसेको संयुक्त बैठकले प्रदर्शनको तयारीमा जुट्ने निर्णय गरेको हो ।

बैठकले पोखराको वीपी चोकबाट प्रदर्शन शुरु गरी महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभा गर्ने निर्णय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको बैठकले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेको छ ।

बैठकले प्रजातन्त्र सेनानी लीलाभक्त आचार्य र कास्की काँग्रेसका पूर्व जिल्ला सदस्य राजेन्द्ररमण पराजुलीलाई पत्नीशोक परेकोमा दुःख व्यक्त गरेको छ ।

बैठकले कास्कीको साविक सल्यान गाविसका अध्यक्ष खड्कबहादुर क्षेत्री र पोखरा ९ का पूर्व जनप्रतिनिधि भगवती राजभण्डारीको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese