no comments

“महिलामैत्री भएन समाज”

पोखरा, २३ असोज / पोखराका विभिन्न क्षेत्रका महिलाहरुले समाज महिला मैत्री हुन नसकेका बताएका छन् । युनाइट्स नेपालको आयोजना र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको सहकार्यमा पोखरामा आयोजित महिला सशक्तिकरण तथा लैङ्किक हिंसा न्यूनीकरण कार्यशाला गोष्ठिमा उनीहरुले महिलामा योग्यता र दक्षता हुँदाहुँदै पनि महिलामैत्री वातावरणको अभावमा अवसरबाट बञ्चित हुनु परेको बताएका हुन् ।

समाज जतिनै विकसित हुँदै गएपनि महिला प्रतिको सकारात्मक दृष्टिकोणको अभावले अवसरबाट बञ्चित हुँदा निर्णायक तह पुग्न नसकेको उनीहरुको भनाइ थियो । साथै, दिनप्रतिदिन महिला तथा बालबालिका माथि बढ्दो हिंसा र बलात्कारका घटनाले महिलाई मानसिकरुपमा विक्षिप्त बनाएको अनुभव समेत सुनाएका थिए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका उपाध्यक्ष गीता तिवारीले स्कुलका पाठ्यक्रमहरु नै परीमार्जित गरी विभेद रहित शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले महिला पुरुष दुवैको उत्तिकै भूमिका र जिम्मेवारी रहने भएकाले महिला बालबालिकाका विषयमा साझा धारणाको खाँचो औल्याउनुभयो । कार्यक्रममा क्यान कास्कीका अध्यक्ष विश्वास भण्डारीले सचेत नागरिकबाट नै समाज परिवर्तन सम्भव हुने उल्लेख गर्दै हिंसा रहित समाजका लागि नतिजामुखी कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रमका संयोजक एवम् क्यान कास्कीका सदस्य सवी गौचन शेरचनले महिलाको आत्मरक्षा र आत्मविश्वासका लागि खेलकूद पनि अपरिहार्य हुँदै गएको चर्चा गर्दै संकुचित मानसिकताबाट माथि उठेर समाज बदल्नु पर्ने कुारमा जोड दिनुभयो । पित्तृसत्तात्मक सोचले महिलाको अस्तित्वलाई अझै पनि स्वीकार गर्न नसकेको उहाँको भनाइ थियो ।

उक्त कार्यशालामा युनाइट्स नेपालका अध्यक्ष, खुशल रेग्मी, सदस्य प्रतिमा भट्ट र युएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले पहिला सत्रमा महिला सशक्तिकरण र दोस्रो सत्रमा युवा सशक्तिकरणका विषयमा विभिन्न प्रस्तुती राखेर सहजीकरण गर्नुभएको थियो । कोभिड –१९ को उच्च जोखिमलाई ध्यान दिएर स्वास्थ्य सतर्कताको मापदण्ड पूरा गरी दुई सत्रमा ५० जनाको सहभागिता रहेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese