no comments

तेश्रो सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगितामा ३० टीम

पोखरा, ९ चैत/ तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ११ गतेदेखि १४ गतेसम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले जनाएका हुन् ।

प्रतियोगितामा सहभागिताका लागि कास्कीका सामुदायिक (सरकारी) ३० टीमले नाम दर्ता गराइसकेका छन् । सोमबार साँझसम्म छात्रतर्फ २० टीम र छात्रातर्फ १० विद्यालयले नाम दर्ता गराइसकेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

उनका अनुसार नाम प्रतियोगितामा सहभागि हुन चाहने विद्यालयलाई अझै नाम दर्ता गर्न सकिनेछ । सहभागि विद्यालयको नाम दर्ता सकिएपछि मंगलबार दिउँसो १ बजे टाइसिट निकालिने उनले बताए ।

प्रतियोगिता चैत ११ गते बुधबारबाट शुरु हुँदैछ । प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिका मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने आयोजक मध्येका एक सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

भलिबलको जग मानिने सामुदायिक विद्यालयबाट खेलाडी उत्पादन शून्य प्रायः भएपछि भलिबलमा पुनःजागरण ल्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कास्की जिल्ला भलिबल संघले जनाएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य भनेको कास्कीमा खस्किएको भलिबल खेललाई उकास्दै नया खेलाडी उत्पादन गर्नुरहेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

प्रतियोगितामा उपाधि बिजेता छात्र/ छात्रा दुबै तर्फकालाई ७/७० हजार, उपबिजेतालाई ३५/३५ हजार र तृतीय हुने विद्यालयलाई २०/२० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १/१ थान भलिबल प्रदान गरिने जनाइएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese