no comments

पोखरामा विशाल महादेबको मुत्तिको काम धमाधम

सागर राज तिमिल्सिना
पोखरा, १४ कात्तिक / पोखरा महानगरपालिका २२ पुम्दीकोटमा यतिबेला नेपालकै अग्लो दावी गरिएको शिवको मुर्ति निर्माणको काम भैरहेको छ । ४० करोड लागतमा निर्माणाधीन मुर्तीले यहाँको धार्मिक पर्यटन प्रबद्र्धन हुने विश्वास लिईएको छ । पुम्दीकोट विकास समितिले मन्दिर निर्माणको काम तीब्र गतिमा गरिरहेको छ । भवन निर्माण र मुर्ति जडानको काम चलिरहेको छ । ५२ फिट अग्लो शिवजीको बसेको मुर्ति राख्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धन र विकासका लागि नेपालका एक सय पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । त्यसैमा परेको पोखरा महानगरपालिका–२२ पुम्दीकोट स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै त्यसलाई पर्यटकीय तथा धार्मिक क्षेत्र बनाउन स्थानीयहरु अझ उत्साही भएका छन् ।

पुम्दीकोटबाट पोखरा उपत्यका सहित हिमाली शृङ्खला, फेवाताल अवलोकन गर्न सकिन्छ । पुम्दीकोटको सम्भावनालाई उजागर गर्न संरचना निर्माण गर्न लागिएको अभियानका संयोजक एवं पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

अहिलेसम्म करिब ४५ प्रतिशत निर्माणको काम सकिएको छ । मुर्ति निर्माणमा केन्द्र सरकार, प्रदेश सरकार र पोखरा महानगर समेत विभिन्न ब्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् । मुर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर ६ करोडभन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । ४० करोडको लागत लाग्ने अनुमान गरिएको अहिले सम्म १४ करोड मात्रै उठेको छ । रकम अभाव भएपछि उठाउने अभियान चलिरहेको बराल बताउ छन् ।

५ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार पहिलो चरणमा मुर्ति सहति गणेशले परिक्रमा गरिरहेको १ सय ८ शिवलिङ्ग, १ सय ८ स्वर्गद्धारी सिँढी, सुमेरु पर्वत लगायत निर्माण हुनेछ । दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङ स्थल लगायत संरचना निर्माण गर्ने योजना छ । संघ र प्रदेश सरकारले पनि चासोका साथ सहयोग गरिरहेको छ । पोखराको पर्यटन प्राकृतिक सुन्दरताले मात्रै धान्दै आएको छ । मानव निर्मित पर्यटकीय गन्तब्यहरु खासै छैनन् । तर यो मुर्ति बनेपछि महत्वपूर्ण गन्तब्य थपिने विश्वास स्थानीयले लिएका छन् ।

पोखराको मुख्य बजारक्षेत्रबाट झण्डै १३ किमि दक्षिण पश्चिममा पुम्दीकोट पर्दछ । पुम्दीकोटबाट फेवाताल सहित पोखरा, अन्नपूर्ण, माछापुच्छे लगायतका हिमशृङ्खला एकसाथ देख्न सकिन्छ । प्रकृतिको अनुपम दृश्य देख्न सकिन्छ । समुन्द्र सतहदेखि झण्डै १ हजार ५ सय मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृश्यावलोकनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा भ्यूटावर निर्माण गरिएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese