no comments

रविलाल पन्थ गण्डकी प्रमुख सचिव

पोखरा, १ मंसिर / गण्डकी प्रदेश प्रमुख सचिव रविलाल पन्थले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् । दामोदर रेग्मीको संघको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएपछि पन्थलाई प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको थियो ।

रेग्मी मंगलबारै बिदाइ भइसकेका छन् । सहसचिव हुँदा प्रदेश नम्बर १ र लुम्बिनीमा प्रदेश सचिव भइसकेका उनी असोज १६ गते विशिष्ट श्रेणीमा बढुवा भएका थिए । बढुवा अघि उनी लुम्बिनी प्रदेशको आन्तरिक मामिलामा १६ महिना र प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा २ महिना सचिव भएर काम गरे ।

२०५७ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका उनले २०६३ मा आन्तरिक प्रतिस्पर्धाबाट उपचसचिवमा नाम निकालेका थिए । पन्थ २०६९ सालमा सहसचिव भएका हुन् ।

सहसचिव हुँदा उनी दाङ, बाँके, महोत्तरी र सुनसरीको प्रमुख जिल्ला अधिकारी भएका थिए । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल र सुर्खेत कार्यालयको प्रमुख समेत भए । केही समय उनी आयोगको केन्द्रीय कार्यालयमा पनि रहे ।

२ वर्ष प्रदेश तहमा सचिव भइसकेका उनले संघीयतालाई मजबुत बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘राजनीति नेतृत्वले गरेका निर्णय कार्यान्वयन, अन्तर मन्त्रालय समन्वय मेरो मुख्य जिम्मेवारी हो, सबैको साथ लिएर काम गर्नेछु ।’ चुस्त सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese