no comments

गण्डकी प्रदेशमा दोस्रोपटक पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त

पोखरा, २९ वैशाख/ गण्डकी प्रदेशमा दोस्रोपटक पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीको रूपमा गुरूङलाई पुनः नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८(३) अनुसार प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

प्रदेश प्रमुख सिताकुमारी पौडेलले धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबभन्दा ठूलो पार्टीको संसदीय दलको नेताका हैसियतले उनलाई फेरि पनि मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।

विपक्षीदलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेपछि गुरूङले यसअघि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीनदिनभित्र नयाँ सरकारको गठनका लागि बुधवार दिउँसो ४ बजेसम्म बहुमत पु¥याएर ल्याउन आह्वान गरेकी थिइन् ।

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले आजै आफूलाई अन्य तीनदलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेको थियो । कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रियजनमोर्चाले समर्थन गरेको पत्र पनि प्रदेश प्रमुखकहाँ बुझाएका थिए ।

६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ३१ मत चाहिन्छ । यी चार दलसँग ३१ मत थियो । तर जनमोर्चाका दुई सांसदले भने आफूहरूले कांग्रेस गठबन्धनलाई समर्थन नगर्ने घोषणा गरेका थिए ।

तर कांग्रेस सहितका दलले भने अहिले राजनीतिक दलहरूको केन्द्रीय समितिले समर्थन गरेको निर्णय भए सरकार गठन गर्न पर्याप्त हुने तर ३० दिनभित्र विश्वासको मत भने पुग्ने उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese