no comments

पत्रकार जमुना शर्मा सम्मानित

पोखरा, १९ कात्तिक / पत्रकार जमुना वर्षा शर्मा ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित भएकी छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सघंको १६ औँ अधिवेशन एवं २७ औँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाबाट उनलाई सम्मान गरे ।

राष्ट्रिय समाचार समिति (रासस) पोखरा समाचारदाता रहेकी शर्मालाई पर्वतीय पर्यटनका साथै समग्र पर्यटनका विविध पक्षमा पत्रकारिताका माध्यमबाट योगदान दिएको भन्दै सस्थाले सम्मान गरेको हो । कार्यक्रममा उद्योगमन्त्री लम्सालले कोरोना सक्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताउँदै यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवद्र्धनमा लागेको बताए ।

कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको बताए । कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाका लागि सरकारले छुट्याएको एक अर्बको कोष चाँडै व्यवसायीका हातमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् टान पश्चिमाञ्चल क्षेत्रीय सघंका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पाँच खर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना संक्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए ।

कोरोनाले विभिन्न क्षेत्र धराशायी बनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताए । टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै संकटमा परेको बताए । टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, सचिव जीवनराज सापकोटा लगायतले पदयात्रा पर्यटनमा देखिएका समस्याबारे उल्लेख गरे ।

TechSansar.com - Technology Navigator website for Nepalese