no comments

पोखरामा पनि खुल्यो प्रहरी अस्पताल, आइतबार देखी सेवा शुरु

पोखरा, ४ साउन / गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित भवनको आइतबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घाटन गरेका छन् ।

पोखरा महानगरपालिका ७ मुस्ताङचोक स्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरि स्वास्थ्य सेवा सुचारु गरिएको हो ।

२०७४ साल चैत्र १७ गते तत्कालिन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्ष कमल सिंह बमले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट प्रदान भईरहेका सेवाहरुलाई विकेन्द्रिकृत गर्ने उद्देश्यले भवनको शिलान्यास गरेका थिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रहरी कर्मचारीहरुलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पतालको परिकल्पना गरि २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौमा स्थापना गरेको बताए ।

उनले तत्कालिन प्रहरी महानिरीक्षक स्वर्गीय डिबी लामालाई समेत स्मरण गर्दै नवनिर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालबाट तल्लो तह सम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी तथा आश्रित परिवालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरि महत्वपूर्ण सुविधाहरु सहित अस्पताल निर्माण भएको प्रति खुशि व्यक्त गरे ।

गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा नर्मन लामिछानेले हाल जनरल ओपिडि सहित वार्ड ल्याव र फार्मेषि सेवा दिंदै आएकोमा यसलाई निरन्तरता दिंदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवाहरु प्रदान गरिने बताए ।

भवन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका टिएसटि प्रमुख प्रहरी निरीक्षक निरञ्जन कुमार सिंहले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट २८ लाख २३ हजार ४ सय ४६ रुपैया ५९ पैसा लागतमा निर्मित उक्त भवनमा सोधपुछ कक्ष, ओपिडी, ईमरजेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय सहित कुल ११०६ वर्ग फिट क्षेत्रफलमा निर्माण भएको जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese