no comments

पोखराका सिमलचौरमा छैन सिमल

कृष्णमणि बराल
पोखरा, १७ चैत / पोखराका वन, पाखा, बगैचामा सिमलका अग्ला रुख र फलेदोका होचा रुखमा सुन्दर फूल फुलेर वातावरण नै रमाइलो बनेको छ । सिमल र फलेदोको फूलको सौन्दर्यताले चरा, मौरी, भमरा पनि आकर्षित भएर फूलको रस चुसेको सुन्दर दृश्य यति बेला देखिन्छ ।

वसन्त ऋतुलाई मनमोहक ऋतुको रुपमा लिने गरिन्छ। यस ऋतुमा वातावरण हरियाली हुन्छ । अनि मनमोहक फूलहरु पनि यसै ऋतुमा फुल्ने गर्छन् । विभिन्न थरीका सुन्दर फूलले वातावरण नै रमाइलो हुन्छ । वसन्त ऋतु शुरु भएसगै पोखराका विभिन्न स्थानमा मनमोहन फूल फुलेका छन् । फूल फुलेपछि सडक तथा पार्कहरु सुन्दर देखिएका छन् ।

पोखराका सडक किनारमा अझै पनि सिमलका अग्ला रुखहरु देखिन्छन् । लेकसाइडको बसुन्धरापार्क, कोमागाने पार्कमा सिमल र फलेदोका रुखमा फुलेका राता फूलले सौन्दर्यता बढाएको छ । लेकसाइडको लेकभ्यु रिसोर्ट अघिको मुख्य सडकमै पनि बुढो सिमलको रुखमा बाक्लै सिमल फुलेको छ ।

मुख्यमन्त्री कार्यालय अघिको सडक, सहिदचोक लगायतका पोखराका सडकमा सिमलका रुखमा फुलेका फूलले पोखराको सौन्दर्यता बढाएको छ । सिमलको फूलको बाहिरी आवरण कडा र गाढा खैरोमा कालो रङ मिसिएको देखिन्छ । भित्रपट्टि गाढा रातो रङका पाँच वटा पुष्पपत्र हुन्छन् ।

सिमल

सिमल तस्बिरः कृष्णमणि बराल

सिमल फूलको तरकारी तथा अचार बनाएर खाने प्रचलन पनि कहि कतै भएको पाइन्छ । सिमल औषधिजन्य वनस्पति पनि हो । सिमलका विविध अवयव विभिन्न शारीरिक समस्यामा लाभदायक हुने जानाकार बताउँछन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ ।

यस्तै, टाउको दुख्दा पातको रस एक/दुई चम्चा पिउँदा आराम मिल्छ । यति महत्वको सिमलका रुख पछिल्लो समयमा हराउँदै गएका छन् । हामी सानो छदा सिमलका रुखबाट सलाइको काटी बनाइन्छ भन्ने सुनेका मात्र होइन रुख काटेको समझना अझै ताजै छ ।

पोखरा ८ सिमलचौरमा पहिले अग्ला अग्ला सिमलका रुखको बगैचा भएकोले नै यस ठाउँको नाम नै सिमलचौर रहेको स्थानीय बताउँछन् । अहिले भने सिमलचौरमा छैन सिमलका रुख । पोखराको निर्मलपोखरी, भरतपोखरी लगायतका क्षेत्रमा अझै पनि सिमलका रुखहरु देख्न सकिन्छ । ठूला पखेटा र शरिरभएका चरा गिद्ध बस्न मन पराउने रुख सिमल हो ।
अग्ला सिमलका रुखमा गुँड बनाउछन गिद्धले ।

यसैले गिद्धको घर हो सिमल । पोखराको निर्मलपोखरी, भरतपोखरीका सिमलका रुखमा हिजो आज पनि धेरै संख्यामा सेतो गिद्ध बसेको दृश्य देख्न सकिन्छ । हिमाली, सुन, डगर, सानो खैरो लगायतका गिद्ध पनि सजिलै यस क्षेत्रका सिमलका अग्ला रुखमा बसेको देखिन्छन् । सिमलको रुख भने पछिल्ला समयमा हराउँदै गएका छन् ।

हामी सानो छदा अग्ला सिमलका रुखमा सिमल फूलेपछि रमाउथ्यौ । चैते हुरीले झरेका सिमलका फूल सुमसुम्याउथ्यौ । सिमलका कपास जस्ता भुवा उड्दा रमाइ रमाइ पछिपछि समाउन भाग्थ्यौ। भुवा समाउन खोज्दा लड्थ्यौ पनि । भुवामा रहेक काला गेडी मिठो मानेर खान्थ्यौ । पोखरा ७ नुवारथोकमा आँप, खनीयाँ, जमुना, अर्चल, मात्र होइन बर्रोको पनि बढेमानको रुख थियो ।

अग्लो रुखमा फलेको टरो बर्राे झरेपछिमात्र नमिठो भएपनि खान्थ्यौ । त्यो बर्रो (तेलाफल) को याद अरु रुख र फलको भन्दा बढी आउँछ । अहिले सम्म त्यो बर्रोको रुख नकाटी बचाएर राखेको भए कति रमाइलो हुदो हो भन्ने लाग्छ । मैले अहिले सम्म बर्रोको बोट अन्यत्र देखेको छैन ।

सिमल र चापको रुख भन्दा ठूलो गजबको रुख थियो नुवारथोकको चाइनाले बनाएको सेती नहरको पुल नजिकै बर्रोको रुख । आयुर्वेदिक औषधीय पद्धतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो बर्राे । फलको धुलो कब्जियत सफा गर्नमा उपयोगी मानिन्छ ।

अहिले भने अवस्था नै फरक छ । हामी केटौली हुँदा यि लगायत धेरै रुखहरु हाम्रा साथी थिए । रुखमा चढेर लठ्ठी डाँडे खेल्थ्यौ । अर्चल खान्थ्यौ । आँप, खनिया, बेडुला, काफल, जमुना, दैजालो, चुत्रो, धोवीनीको जरो, बयर, कटुस लगायत धेरै फल खान्थ्यौ । सिमल र फलेदोको फूलको सुन्दरतामा रमाउँथ्यौ । तस्बिरमा हेर्नुहोस सिमल र फलेदोको सुन्दरता । सबैमा धन्यवाद ।

सिमलचाैरमा छैन सिमल

TechSansar.com - Technology Navigator website for Nepalese