no comments

पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण टंकी थप्ने

पोखरा, २७ कात्तिक / नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण बनाउने काम थालेको छ । अहिले भैरहेको भण्डारणबाट गण्डकी प्रदेशको १ साताको माग मात्रै धान्छ । आपुर्तिमा सामान्य समस्या आएपनि पेट्रोलियम पदार्थको हाहाकार हुने गरेको छ ।

त्यसैलाई मध्येनजर गरेर निगमले ५० लाख लिटर क्षमताका दुईवटा टंकी निर्माण गर्न लागेको हो । गगनगौंडा स्थित हाल निगमको डीपो भएकै ठाउँमा टंकी थप्न लागिएको हो । यसका लागि ७७ करोड रुपैयाँमा सम्झौता भैसकेको छ ।

अहिले यहाँ २२ लाख ८० हजार लिटर मात्रै भण्डार गर्न सकिन्छ । नयाँ टंकी बनाएपछि ४० दिनलाई डिजेल पुग्ने निगमका गण्डकी प्रदेश प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।

गण्डकीका कास्की सहित पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङ, तनहुँ र स्याङजामा पेट्रोलियम पदार्थ यही डिपोबाट सप्लाइ हुदै आएको छ । दैनिक २ लाख लिटर डिजेल र १ लाख लिटर पेट्रोल गण्डकीमा खपत हुन्छ ।

यसैगरी, निगमले हवाई इन्धनको भण्डारण केन्द्र पनि थप्न लागेको छ । निर्माणाधीन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा ४० लाख लिटर क्षमताको हवाइ इन्धन डिपो बनाउन लागेको उनले बताए ।

हाल यहाँ ६४ हजार लिटर मात्रै भण्डारण क्षमता छ । बिहीबार ७७ रोपनीमा बन्ने उक्त डिपोको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलन्यास गरे । डिपो दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने निगमले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese