no comments

पोखरा महानगरमा राजस्व अनियमितता प्रति कर्मचारीले गरे मेयर र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण

पोखरा, २१ असोज / पोखरा महानगरपालिकामा भएको राजस्व चुहावट पार्ने कामप्रति महानगरकै कर्मचारी संगठनले ध्यानाकर्षण गराएको छ । मंगलबार पोखरा महानगरपालिकाका मयेर मानबहादुर जीसी र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले राजस्व हिनामिना गर्ने कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।

कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियन नेपालले नागरिकले बुझाएको करको सदुपयोग नभएको र राजस्व अनियमितता भएको समाचार आएको भन्दै छानबिन र कारबाहीको माग गरेको छ । युनियनले राजस्व अनियमितताका सम्बन्धमा सत्य, तथ्य, निष्पक्ष छानबिन गरी दोषी उपर कानुनअनुसार कारबाही गर्नसमेत माग गरेको छ ।

महानगरमा कार्यरत सबै कर्मचारीको सम्मान, सुविधा र सेवामा निरन्तरता र स्थायित्वको माग पनि गरेको छ । स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई विशेष प्याकेज व्यवस्था गर्न समेत माग गरेको छ ।

नयाँ संरचनामा पुराना कर्मचारीको समायोजन र पदस्थापना व्यवस्थित रूपमा नभएको भन्दै युनियनका महानगर सचिव मोहन ढुंगानाले भने, ‘समायोजन विभेदपूर्ण तरिकाले भएको छ । यसबारे उपयुक्त नियम बनाएर तत्काल कर्मचारीको समकक्षता निर्धारण, समायोजन र पदस्थापना हुनुपर्छ । सबै कर्मचारीको वृत्ति विकास र बढुवाको सुनिश्चितता गरिनुपर्छ ।’

युनियनले सात बुँदे मागपत्र पेस गरेको हो । विगतमा कर्मचारी हेरफेर गर्दा मनोबल खस्किने किसिमले गरिएको आरोप लगाउँदै अध्यक्ष अमिर भण्डारीले आस्थाका आधारमा कर्मचारीलाई हतोत्साही बनाउने काम नगर्न सुझाए । उनले घरपायकसहितको सरुवा मापदण्ड बनाउन माग गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese