no comments

पोखरा महानगरपालिकामा अनियमितता भएको भन्दै काँग्रेस वडाध्यक्षको विरोध

पोखरा, १२ साउन/ पोखरा महानगरपालिकामा काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिकाको काम कारबाहीमा असन्तुष्टि जनाएका छन् । सोमबार पत्रकार समेलन गरेर पोखरा महानगरमा विभिन्न १२ बुँदामा अनियमितता भएको काँग्रेस सचेतक एवं पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले महानगरलाई ध्यानाकर्षण गराइएको बताए ।

महानगरपालिकाको कामबारहीमा विभिन्न विकासका योजना तथा ठेक्कासम्झौतामा एकलौटी गरेको, आफ्नै कार्यकर्ता पोस्ने काम गरेको, विभिन्न घाटहरुको ठेक्का सम्झौतामा अनियमिता गरेको, महानगर स्वामित्वका भवनहरुको घरभाडा आर्थिक चलखेल गरेको, पार्किङ ठेक्का वापतको रकम अझै असुल नगरेको, बैंक ग्यारेन्टी नराखी अनियमितता गरेको लामिछाने बताए ।

उनले पोखरा रामघाटको ठेक्का सम्झौता गर्दा राजी कन्ट्रक्सनसँग प्रचलित कानुन एवं प्रकाशित सूचना विपरीत हुने गरी ३ करोड ५ लाख बराबरको रकम बैंक ग्यारेन्टी एवं नगद २ साताभित्र जम्मा गर्ने गरी सम्झौता भएकोमा रकम जम्मा एवं बैंक ग्यारेन्टी पेस नगरी अनियमितता गरेको लामिछानेले बताए ।

यस्तै, जनप्रतिनिधि आउनुअघि बेरुजु करिब २३ करोड भएकोमा हाल कुल बेरुजु १ अर्ब २६ करोड हुन गएको, पोखराको सिर्जनाचोकस्थित महानगरको भवन ७६ लाख पने गरी भाडामा दिँदा ठेक्का दिइएकोमा सा ेबापत हालसम्म १ करोड ८६ हजार अझै असुल गर्न नसकेको, मालपोत कार्यालयअघि महानगरको सटर विगतमा २५ हजार मासिक भाडा दिइदै आएकोमा हाल मात्र १०÷१२ हजारमै सम्झौता गरी आर्थिक हिनामिना गरिएको विज्ञप्तीमा उल्लेख छ ।

महानगरपालिकाका कुल ३३ वटामध्ये ११ वटा वडामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले चुनाव जितेका थिए । बाँकी २२ वटा वडामा नेकपा गठबन्धनले चुनाव जितेको हो । काँग्रेसबाट सचेतक पोखरा ९ का रामराज लामिछाने सहित, पोखरा २ बाट रामेश्वर बास्तोला, ३ का रवीन्द्रबहादुर प्रजु, पोखरा ४ का शंकर बास्तोला, ६ का जगतबहादुर पहारी, १० का राजकुमार गुरुङ, ११ का मोहनप्रसाद बास्तोला, १२ का रामबहादुर कार्की, २३ का विष्णुप्रसाद पराजुली, २७ का पूर्णकुमार गुरुङ र ३२ का अक्कलबहादुर कार्की काँग्रेसतर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

TechSansar.com - Technology Navigator website for Nepalese