no comments

पोखराका ३० चोकमा हाइमास्ट लाइट र ८० किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने

पोखरा, २५ असोज/ पोखराको ८० किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान र पोखराका व्यस्त ३० चोकमा हाइमास्ट लाइट जडान गरिने भएको छ ।

पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बीच पोखरामा स्मार्ट सडक बत्ती जडान र हाइमास्ट लाइट जडान तथा विस्तार कार्य गर्न सहमति भएर काम अगाडि बढेको पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । यसको लागत १२ करोड ७५ लाख लाग्ने गरि नेपाल विद्युत प्राधिकरणतर्फबाट बोलपत्र जारी भइसकेको छ ।

लाइट जडान गर्न डिपिआर तयार गरेर महागरका प्रमुख मानबहादुर जिसी र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक बीच २०७७ मा सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार योजनाको लागतमा पोखरा महानगरपालिका र विद्युत प्राधिकरणको बराबर साझेदारी रहनेछ ।

लागत साझेदारी अनुसार पोखरा महानगरपालिकाले साझेदारी गर्ने रकम मध्ये १ करोड ५० लाख रुपैंयाँ प्राधिकरणको खातामा जम्मा गरिसकेको उनले जानकारी दिए । दसै लगत्तै निर्माण कम्पनीलाई काम थालनी गर्न विद्युत प्राधिकरणले पत्राचार गरिसकेको छ ।

त्यसै गरी पोखरा महानगरपालिका भित्रको ढललाई व्यवस्थापन (waste water management ) गर्नका लागि गुरु योजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ ।

२०७८ वैशाख ८ गते भएको सहमति अनुसार २ वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरु योजना तयार पार्नेछ । उक्त कार्यको लागि जापानले निजी कम्पनी छनोट गरी सकेको र नोभेम्बरको (कात्तिक) पहिलो हप्ताबाट विज्ञहरुको टोली पोखरामा खटिइ आउने जानकारी सम्बन्धित निकाय र महानगरबीच सम्पन्न (Kick of Meeting ) मा जानकारी प्राप्त भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese