no comments

पोखरामा खुलेको सन्देश दिन पर्यटन दिवसमा पोखरामा सडक महोत्सव

पोखरा, ९ असोज/ लामो समयदेखि ठप्प रहेको पोखराको पर्यटन क्षेत्रलाई ब्यूताउँन पर्यटन व्यवसायी सक्रिय बन्न थालेका छन् । त्यसका लागि पर्यटक तान्ने विभिन्न कार्यक्रम व्यवसायीले गर्न थालेका छन् ।

व्यवसायीले पाहुनालाई पोखरा खुल्ला छ भन्ने सन्देश दिन विश्व पर्यटन दिवसका अवसर पारेर सोमबार लेकसाइडमा एकदिनका लागि सडक महोत्सव आयोजना गर्ने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले सोमबार बेलुकी पाँच बजेदेखि १० बजेसम्मका लागि मिनि स्ट्रिट फेस्टिवल आयोजना गरेको अध्यक्ष लक्ष्मण बरालले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म सडक महोत्सवका लागि कार्यक्रम हुने छन् । सडकमा सार्वजनिक सवारी आउजाउ रोकेर सारंगी प्रस्तुती, लाखे र थारु समुदायको नाचसहित विभिन्न मनोरञ्जनका कार्यक्रम हुने छने भने सडकमा रेस्टुरेन्टले विभिन्न परिकार पस्कने उनले बताए ।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराईले पोखरामा हुने यो कार्यक्रमले पोखरा घुम्नका लागि सुरक्षित बनिसकेको सन्देश पुग्ने बताउँछन् ।

उनका अनुसार साप्ताहिक बिदा पारेर पोखरामा आन्तरिक पाहुना घुम्न आउन थालेका छन् । दसैं र तिहारको बिदाले झनै पाहुना आउनेमा आफूहरु आशावादी भएको उनले बताए । यही कार्यक्रमका लागि नेपालमा रहेका विभिन्न देशका राजदुतहरु पोखरामा हुने कार्यक्रममा सहभागी हुन आउने छन् ।

उनका अनुसार यतिबेला पोखरामा आन्तरिक पाहुनाको चहलपहल बढेको छ । बिदाको दिन त यहाँका होटल र रेस्टुरेन्टमा आन्तरिक पाहुनाको भीडभाड नै हुने गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese