no comments

पोखरा एयरपोर्टमा उल्झन नै उल्झन, संसदीय समितिको स्थलगत अध्ययन

पोखरा, १२ पुष/ २०७३ सालदेखि निर्माण सुरु भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलको ९० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिएएमसीईले आउँदो जुलाई महिनासम्म काम सकेर सरकारलाई हस्तान्तरण गरिसक्ने जनाएको छ ।

कोभिडको जोखिम नभएको भए अहिलेसम्म विमानस्थल तयार भैसक्थ्यो । जे होस्, ६ महिनाभित्र अव पोखरामा अन्तराष्ट्रिय विमानस्थल तयार हुन्छ, जहाँबाट ठूला जहाज आउजाउ गर्न सक्छन् । विमानस्थलको परिधिभित्रको काम धमाधम चलिरहँदा बाह्य उल्झन् भने अझै सल्टिएको छैन । विमानस्थलले यहाँबाट जहाज उडाउनुअघि समाधान गर्नुपर्ने गरी १० वटा समस्या विमानस्थलले अघि सारेको छ ।

जहाज आउनुअघि समाधान गर्नुपर्ने समस्याबारे प्रतिनिधिसभाको अन्तराष्ट्रिय समन्वय समितिले आइतबार पोखरा आयोजना गरेको कार्यक्रममा १० वटा समस्या विमानस्थलले अघि सारेको हो । समितिका पदाधिकारी र सदस्यहरुले विमानस्थल आयोजना र सम्बन्धित सरकारी निकायका प्रतिनिधिसँग समाधानको उपायको खोजी गरे ।

सबैभन्दा मुख्य समस्या ल्याण्डफिल साईट हो । जहाज उड्ने रुटमा रहेको पोखराको ल्याण्डफिल नसार्दासम्म नयाँ एयरपोर्ट प्रयोगमा आउँदैन । महानगरपालिकाले ३ ठाउँको जग्गा हेरेर ल्याण्डफिल सार्ने तयारी गरेपनि प्रक्रिया अघि बढेको छैन । वडा नम्बर २० र १६ को सीमानामा पर्ने जग्गामा सार्नका लागि प्राथमिकताका साथ प्रश्ताव गरिएकोमा स्थानीयहरुले विरोध गरेका छन् । पोखरा महानगरका ल्याण्डफिल शाखा प्रमुख नेत्र तिमिल्सिनाले केही समयभित्रै समस्या समाधान हुने बताए ।

अर्को उल्झन हो पोखरा २६ मा रहेको रिठ्ठेपानीमा रहेको डाँडा । डाँडा काट्न संघ सरकारले अझै ईआईए प्रतिवेदन स्विकृत गरेको छैन । सुरुमा गरिएको अध्ययनले नभएर दोश्रो पटक यसको अध्ययन भएको हो । ‘पुरक ईआईए रिपोर्ट बल्ल बन्दैछ । सुरुमा मन्त्री ज्यूले त्यस्तो झण्झट हुँदैन भन्नुभएको थियो । अहिले मन्त्री ज्यू हुनुहुन्न, काम अघि बढेन,’ विमानस्थलका इन्जिनियर कृष्ण पौडेलले बताए ।

विमानस्थलबाट जहाज उड्न जहाजका लागि इन्धन चाहिन्छ । त्यो इन्धन विमानस्थलमै भण्डारण गर्नुपर्छ । नयाँ बन्दै गरेको विमानस्थलमा इन्धन भण्डारण स्थल निर्माण सुरु नै भएको छैन । सुरु भएपछि कम्तिमा ३० महिना लाग्छ सबै काम सकिन । विमानस्थल सन्चालनका लागि छुट्टाछुट्टै सव स्टेशनबाट दुई लाईन विजुली ल्याउनुपर्छ । हालसम्म नेपाल विद्युत प्राधिकरणले १ लाइन मात्रै स्विकृत गरेको छ । तत्काल जहाज उडाउन समस्या नभएपनि विजुली व्यवस्था समयमा नभए विमानस्थल सन्चालन खर्च निकै महंगो पर्ने नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए ।

समितिका सभापति दिब्यमणी राजभण्डारीले अन्तर निकायगत समन्वयको अभावले विमानस्थलको काममा ढिलाई भएको बताए । ‘एउटा कार्यालय र अर्को कार्यालयबीच समन्वय नहुदाँ काममा ढिलाई भएको राजभण्डारीले बताए । अन्तराष्ट्रिय बायुसेवा निगमलाई आकर्षित गर्ने शुल्क, छुट, प्याकेज सरकार ल्याउनु पनि उनले बताए ।

उस्तै टड्कारो समस्या छ, विमानस्थलको सुरक्षाको रहेको छ । विमानस्थलमा बगेर पुग्ने पोखराको भलबाढी, विजयपुरदेखि सेती नदीसम्मको सडक, एयरपोर्ट श्रम कार्यालय लगाएतको समस्या छन् । समस्या समाधानमा प्रदेश र संघ सरकारबीच समेत समन्वय आवश्यक रहेको छ । समितिले समस्या र समाधानबारे एकीकृत रिपोर्ट प्रतिनिधिसभालाई बुझाउने छ ।

TechSansar.com - Technology Navigator website for Nepalese