no comments

नगरपालिकाहरुको आधामात्र फोहोर संकलन

पोखरा, २९ पुस/ नेपालका नगरपालिकाहरुमा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । देशका २ सय ९३ नगरपालिकामा भएको सर्भेक्षणमा आधा फोहोरमात्र स्थानीय सरकारले संकलन गर्न सकेको देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापना सर्वेक्षण २०७६ को प्रतिवेदनले यस्तो औंल्याएको छ । बुधबार पोखरामा आयोगले सर्भेक्षणको प्रतिवेदनमाथि अन्तक्र्रिया आयोजना गरेको छ ।

फोहोरमैलालाई जैविक, अजैविक र अन्य गरी ३ वर्गमा विभाजन गरी तथ्यांक संकलन गरिएको छ । नेपालका ४१ प्रतिशत नगरपालिकाले मात्र ल्यान्डफिल साइट प्रयोग गरेको सर्भेक्षणमा देखिएको छ । संकलित फोहोरमध्ये ४८.६ प्रतिशतमात्र ल्यान्डफिल साइटमा व्यवस्थापन गरिएको र ४.१ प्रतिशतमात्र पुनः प्रशोधन भएको देखिएको छ ।

फोहोर व्यवस्थामा मुख्य समस्याबारे प्रतिवेदनमा भनिएको छ, ‘जनचेतनाको कमी, ल्यान्डफिल साइटको समस्या तथा नगरपालिकाहरुमा जनशक्ति, बजेट र पूर्वाधारको कमी देखिएको छ ।

विभागका निर्देशक सुशीलकुमार शर्माले सर्भेक्षणबारे प्रकाश पारेका थिए । उनले वातावरण तथा सरसफाइका लागि नगरपालिकाहरुले १.७७ प्रतिशतमात्र बजेट खर्च गर्ने गरेको उल्लेख गरे । २ सय ९३ नगरपालिकामध्ये १२ नगरपालिकामा फोहोरमैलाबारे कुनै तथ्यांक नपाइएको उनको भनाइ छ ।

महानगरमै सेनिटरी ल्यान्डफिल साइट नभएको, ल्याडफिल साइटै नभएका नगरपालिका पनि रहेको तथ्यांक प्रस्तुत गर्दै उनले ६० प्रतिशत सहरी बसोबास रहेको नेपालले फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिनैपर्ने उल्लेख गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका प्राडा केदार रिजालले यो सर्भेक्षणले पुराना नगरपालिकाको अवस्था देखाएको र नयाँ नगरपालिकालाई योजनावद्ध रुपले फोहोर व्यवस्थापन गर्न सघाउने उल्लेख गरे । सरसफाइ सभ्यताको प्रतीक भएको उल्लेख गर्दै उनले स्थानीय सरकारको सक्रियताबिना यो समस्या समाधान नहुने जनाए ।

फोहोर उत्पादन नै कम गर्ने उपायबारे सर्वसाधारणलाई सचेत बनाउन उनले सुझाव दिए । प्राडा रिजालले भने, ‘संसारमै महंगो स्रोत हो जमिन । फोहोरलाई स्रोतमै घटाउने उपाय गर्नु जरुरी छ । यसो हुँदा व्यवस्थापन गर्न सजिलो हुन्छ ।’
विभागका निर्देशक प्रमोदराज रेग्मीले फोहोर उत्पादन र व्यवस्थापनबारे अध्ययन गर्दा यसको मापनविधि मुख्य चुनौति देखिएको जनाए ।

विभागको उपमहानिर्देशक हेमराज रेग्मीले विभागले सबैलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध गराउने दायित्व यथाशक्य बहन गरिरहेको बताए । विभागले जनगणनादेखि विभिन्न सर्वेक्षण, गणना गरिरहने उल्लेख गर्दै यसबाट आएका तथ्यांकले योजना निर्माणमा सघाउने जनाए ।

वालिङ नगरपालिका सरसफाइ शाखाका शाखा अधिकृत पदमप्रसाद पाण्डेले नगरपालिकाले बिनाखर्च गरिरहेको फोहोर व्यवस्थापनको अनुभव सुनाए । १० वर्षपहिले नगरपालिकाले ३५ सरसफाइ व्यवस्थापन समिति बनाएर टोल टोलमा सचेतना अभियान चलाएको जानकारी दिए । उनले भने, ‘हामी फोहोरै भन्दैनौं । सरसफाइ केन्द्रका रुपमा विकास गरेका छौं। नागरिक सचेत छन । हामीसँग १० जनामात्र कुचिकार छन् ।’

पोखरा महानगरकी सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले ९ निजी कम्पनीसँग साझेदारी गरी फोहोर व्यवस्थापन भइरहेको जानकारी दिइन् । उनले नयाँ ल्यान्डफिल साइटका लागि जाग्गा प्राप्तिमै समस्या भएको उल्लेख गरिन् ।

व्यास नगरपालिकाका वरिष्ठ अधिकृत कृष्णराज घिमिरेले स्थानीय, वन समूह आदिको विरोधले फोहोर व्यवस्थापनका लागि उचित ठाउँ नपाएको उल्लेख गरे । उनले भने, ‘नदी किनारमा थुपार्ने गरेका छौं । ल्यान्डफिल साइटका लागि जग्गा नै पाइएको छैन ।’ कार्यक्रममा तथ्यांक कार्यालय पोखराका प्रमुख जगुलाल बस्यालले पनि बोलेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese