no comments

प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

बागलुङ, १३ फागुन/ राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको बैंकले जनाएको छ ।

प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

प्रदेश अन्तरगतका सबै शाखा कार्यालयहरुलाई उक्त प्रदेशको शाखा कार्यालय अन्तरगत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरुसंग समन्वयात्मक तथा प्रशासनिक कार्यहरु गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति दिइएको छ ।

देशमा संघीय संरचना शुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरेको थियो । बैंकको साधारणसभाको प्रदेश शाखा कार्यालय स्थापना गर्ने निर्णय अनुसार नेपाल राष्ट्र बैंकमा माग गरिएको र स्वीकृति प्राप्त भएको सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

प्रदेश अन्तरगतका शाखाहरुको संयोजनकारी भूमिका निर्वाह गर्ने गरीे छिटै प्रदेश शाखा कार्यालयहरु सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी दिनुभयो । प्रदेश शाखाले सम्बन्धित प्रदेशमा बैंकले सञ्चालन गर्ने शिक्षा, तालिम लगायत प्रशासनिक कामको संयोजक गर्नेछ ।

राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । बैंकका करिव १३ हजार सहकारी संघ संस्था सदस्य रहेको बैंकले २ अर्ब ८५ करोड शेयर रकम, ५८ अर्ब निक्षेप र ३० अर्ब कर्जा लगानी गरेको छ ।

बैंकले सदस्य संस्थाहरुसंग वित्तीय कारोबारसंगै संस्थाहरुको संस्थागत विकासका लागि स्तरीकरण लगायत शिक्षा तथा तालिमका कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese