no comments

कास्की कारागारहरुमा राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन, कोरोनाको उच्च जोखिममा

पोखरा, १७ असोज /राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागारमा कोरोनाको जोखिम अध्ययन गर्न थालेको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोली नोभल कोरोना भाइरस (कोभिड–१९) कारण कैदी बन्दीहरुको अवस्था बुझने क्रममा टोली कास्कीको पोखरा हुदै अन्य जिल्लामा कारागारहरुको अनुगमनका लागि देश दौडाहामा छुट्टाछुट्टै निस्किएको हो ।

आयोगका सदस्य सुदीप पाठक तथा अर्का सदस्य यज्ञ अधिकारीको नेतृत्वमा टोली निस्केको छ । सुदीप पाठक नेतृत्वको टोली झापा, सुनसरी, सिराहा, जुम्ला, सुर्खेत हुँदै कास्की आइपुगेको हो । कोरोनाको प्रभाव कैदी बन्दीमा कस्तो छ भनेर बुझ्न आफूहरु देशभरका कारागारहरुको अनुगमनमा निस्किएको आयोगका सदस्य सुदीप पाठकले बताए ।

पाठकले कारागारहरुको अनुगमनका क्रममा कारागारहरुमा कोरोनाको जोखिम उच्च रहेको अनुगमनको क्रममा देखिएको बताए । सिराहा कारगारमा पूर्वाधारको अभावका कारण कोरोना संक्रमितलाई एउटा ब्लकमा र अन्य सबै बन्दीलाई अर्को ब्लकमा राखेको पाइएको भन्दै यो कोरोनाका लागि सबैभन्दा जोखिमपूर्ण रहेको बताए । उनले जनताले त कमिकम्जोरी देखाइने बताउदै सरकारले त्यसको निराकरणमा लाग्नु पर्ने बताए ।

आयोगले कैदीको अवस्था कस्तो छ ? सामाजिक दुरी कायम गर्ने वातावरण छ कि छैन ? कारागार भित्र संक्रमितलाई राख्ने आइसोलेसन छ कि छैन ? संक्रमितसँगको सम्पर्कमा रहेका तथा वयानमा गएकाहरुलाई फर्किएपछि उनीहरुलाई राख्नका लागि क्वारेन्टिन छ कि छैन ?, कारागारमा रहेकाहरुले मास्क र सेनिटाइजरको प्रयोग गर्छन् कि गर्दैनन् ? गर्दैनन् भने त्यसको कारण के होलगायतबारे बुझ्ने गरेको सदस्य पाठकले जानकारी दिए ।

कास्की कारागारमा क्षमता भन्दा दोब्बर कैदी बन्दी रहेका छन् । कास्की कारागारको क्षमता ४२० जनाको भएपनि ९२८ जना राखिएको कास्की कारागारका जेलर केशव लामिछानेले जानकारी दिए । उनका अनुसार कास्की कारागारमा ३ वटा ब्लक मध्ये एउटा महिला र २ वटा पुरुष ब्लक बनाएर राख्ने गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, कास्कीका प्रहरी प्रमुख एपि जिवन श्रेष्ठ लगाएतले कारगारको व्यवस्थापनका बारेमा जानकारी दिएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese