no comments

पत्रकार महासंघ कास्कीः नवनिर्वाचित पदाधिकारीलाई लामा अमृत फाउण्डेशनद्वारा बधाई ज्ञापन

पोखरा, २७ चैत/  नेपाल पत्रकार महासंघ कास्कीको नव निर्वाचित पदाधिकारीहरुलाई औपचारिक पहिलो बधाई तथा अभिनन्दन कार्यक्रम लामा अमृत फाउण्डेशनले गरेको छ । शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गर्दै फाउण्डेशनका अध्यक्ष अमृत गुरुङ लामाले नयाँ कार्य समितिलाई खादा, अबिर र पुष्पगुच्छाद्वारा बधाई दिएका हुन् ।

सो अवसरमा बोल्दै पत्रकार महासंघ कास्कीकी नवनिर्वाचित अध्यक्ष एवम् पहिलो महिला नेतृ विमला भण्डारीले निर्वाचनका बेला प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै आगामी दिनमा पत्रकारकै हकहितका विषयलाई प्रोत्साहन गर्ने हेतुले कार्यक्रम तय गर्ने बताईन् । उनले अब सबै मिलेर महासंघका साझा मुद्दाभित्र अडिक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पत्रकारितामा योगदान पुर्याएका व्यक्तिहरुको विशेषज्ञतालाई महासंघले आत्मसाथ गर्दै आगामी कार्यक्रम तय गर्ने उनले बताइन् । उनले अब पोखरामा भएका सबै संघसंस्थासँग समन्वय गरेर महासंघ अगाडि बढ्ने बताईन् ।

महासंघले अघिल्लो कार्यकालमा बनाएका केही योजनाहरु अधुरो रहेको र त्यसलाई पूर्णता गर्ने जिम्मेबारी अहिलेको कार्यसमितिमा भएको उनले उल्लेख गरिन् । विगतका कार्यक्रमको निरन्तरता सँगै आफु नेतृत्वको कार्यसमितिले नयाँ योजना बनाएर उत्पादनमुखी पत्रकारितामा जोड दिने उनले बताइन् ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका अध्यक्ष अमृत गुरुङले आफ्ना हरेक कार्यक्रममा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउँदै गुरुङले महासंघका कार्यक्रममा फाउण्डेशनको संलग्नता रहनेतर्फ जोड दिएका थिए ।

उक्त बधाई तथा सम्मान कार्यक्रममा नवनिर्वाचित सहसचिव श्रीराम सिक्देल, समावेशी सहसचिव रेम विक, महिला सदस्य सपना अधिकारी, दलित सदस्य विजय नेपाली, आदिवासी जनजाति सदस्य पदम कुमार श्रेष्ठ, र खुला सदस्यहरु गीता रानामगर, धन बहादुर गुरुङ (सुमन), युवराज गुरुङ (युनिश), सन्तोष सुवेदी, सन्तोष बस्याल, प्रभु अधिकारी लगायतको सहभागिता रहेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese